नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै


नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन दिउँसो ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पुर्याएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय-जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए ।

भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पुर्याइएको हो । शनिबार राति जालपादेवी मन्दिर पुगेका धामी हरिमानसिंह डङ्गोल पनि गएमध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेका छन् ।

मध्यरातको सङ्कटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्किएको द्वारे शाहीले जानकारी दिए । आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइँ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर छर्केसँगँ यस वर्षको सिन्दूरेजात्रा मनाइने गरिएको छ ।  

गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो । यो उल्लास आज सिन्दूर खेल्ने समयसम्म कायम रहने गरेको छ । भैरवी वर्षबन्धन-२०७८ को धार्मिक विधि भने वैशाख १३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिए ।
 

Skip This
Logo