ठाडो भाकाको प्रशिक्षणमा १३ वर्षदेखि ८० वर्षका वृद्धसम्म

ठाडो भाकाको प्रशिक्षणमा १३ वर्षदेखि ८० वर्षका वृद्धसम्म


लमजुङमा सञ्चालन गरिएको लोपोन्मुख ठाडो भाकाको दुई दिने निःशुल्क प्रशिक्षणमा १३ वर्षका बालकदेखि ८० वर्षका वृद्धसम्मले भाग लिएका छन् । मध्यनेपाल नगरपालिका- ६ को भोर्लेटारस्थित इशानेश्वर क्याम्पसको हातामा उक्त प्रशिक्षण सञ्चालन गरिएको थियो । 

ठाडो भाका लोककला प्रतिष्ठान नेपालको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको प्रवर्द्धन तथा बौद्ध सेवा समाज बाबाआमा समूह भोर्लेटारको विशेष सहयोगमा सो प्रशिक्षण गरिएको हो । संगीताका तीन वटै विधा ‘वागीना’ अर्थात् वाद्यवादन, गीत गायन र नाचमा प्रशिक्षण सञ्चालन गरिएको थियो । 

प्रशिक्षणमा १३ वर्षका पनाति पुस्तादेखि ८० वर्षका बाजे चार पुस्तासम्मका व्यक्तिले भाग लिएका थिए । प्रशिक्षणले प्रतिभा भएर पनि कुण्ठित अवस्थामा रहेकालाई समेत उजागर गर्ने काम गरेको थियो । 

आफूले ठाडो भाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताउँदै मध्यनेपाल नगरपालिका- ७ को चिसंकु निवासी ८० वर्षीय मीनबहादुर गुरुङले ठाडो भाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताए । उनका अनुसार ठाडो भाका हत्तपत्त जो पायो उसले गाउन सक्दैनन् । ‘तर यसमा रस बसेपछि अरू गीत गाउन मन नै हुँदैन,’ उनले भने, ‘रौस गर्न त उमेरले छेक्दैन नि ! मेरो कान अलिक कमजोर भएको छ, अरू कुराले जवान नै छु जस्तो लाग्छ ।’

यो संस्थाका ठुला मान्छेहरूलाई सुनाउनु पर्छ भन्ने ठानेर आफू कार्यक्रममा आएको उनले बताए। उनले भने, ‘पोहोर साल लमजुङको पूर्वी क्षेत्र दोर्दी गाउँपालिकामा आयोजना गरिएको ठाडो भाकाको प्रतियोगितामा भाग लिन गएको थिएँ तर केटी साथी नपाउँदा मैले भाग लिन र गाउन पाइनँ ।’

उनले ८० वर्षको उमेरमा पनि आफैले मादल बोकेर कार्यक्रममा जाने गरेको सुनाए । उनी भन्छन्, ‘जवान छँदा त आफैले मादल बनाउने काम पनि गर्थे, यो मादल म आफैले १० वर्ष अघि बनाएको हुँ ।’

प्रशिक्षणमा भाग लिन आएकी सुन्दर बजार नगरपालिका-१ की २३ बर्सिया मुना दुराले प्रशिक्षण उत्कृष्ट लागेको बताइन् । प्रशिक्षणमा आयोजक संस्थाका संरक्षक एवं ठाडो भाकाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका वरिष्ठ सदस्य एवं लोक गायिका सीता दुरा, सुबेदार सन्तबहादुर गुरुङ, लोक गायिका सावित्री शाहीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अपनाइएको आयोजक संस्थाका महासचिव रुपिन्द्र प्रभावी जोशीले बताए । ठाडभोकामा माया पिरतीका अतिरिक्त दाजु-बैनी, दिदी-भाइ, आमा-छोरा, बाबु-छोरी तथा सामाजिक अभियन्तासमेत बनेर भावसहित रसपूर्ण तरिकाले गायन गर्नु पर्ने प्रशिक्षक सीता दुराले बताइन् । प्रशिक्षणमा कास्की, तनहुँ र लमजुङका गरी ३७ जना महिला र पुरुषले भाग लिएका थिए ।

Logo