रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल लगिँदै

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल लगिँदै


रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिँदैछ । 

३ सातासम्म लगनखेलको थतिटोल चौबाटोमा रहेको रथ दिउँसो ४ बजे जावलाखेलतर्फ लग्ने गुठी संस्थानले जनाएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु हुन्छ । गुरुज्यूको पल्टन, बाजागाजा सहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन् । 

विभिन्न टोलका बासिन्दा भेला भएपछि गुरुज्यूको पल्टन, बाजागाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन्। रथलाई जावलाखेल पुर्‍याएपछि पल्टनले फेरि हर्षबढाइँ गर्ने चलन छ । 

यस क्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा छ। संस्थान ललितपुर शाखाकाप्रमुख हरिप्रसाद सुवेदीका अनुसार रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। 

परम्पराअनुसार रथ जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाइन्छ । रथ हिँडेपछि कुनै व्यवधान नभए या समस्या नआए जेठ २१ गते भोटो जात्रा हुने सुवेदीले जानकारी दिए । जाह्वला जात्रा अर्थात् जावलाखेलमा रथ तान्ने साइत निकालिएसँगै भोटो देखाउने जात्राको दिन पनि टुंगो लागेको हो । 

परम्परागत दुई ज्योतिषले गत बिहीबार थतिटोलबाट जावलाखेल पुर्‍याउने साइत निकालेका थिए। ती ज्योतिषीले मणिमण्डपको सोह्रखुट्टे पाटीमा बसेर साइत निकालेका हुन्। भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको जात्रा समापन हुन्छ । भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याउने गरिन्छ । 

Logo