नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड


नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । 

नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको बुधवार सम्पन्न बैठकमा नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तामा जोड दिइएको हो । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फोरमको बैठकमा व्यापार घाटालाई कम गर्न दुई देशबीच संयुक्त लगानी विस्तारमा जोड दिइएको जानकारी दिएको हो । 

भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशिया बीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना रहेकाले पनि सिधा हवाई सेवा संचालन महत्वपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, 'दुवै देशकातर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको पाईदैन । प्राप्त तथ्याक अनुसार दुुई देश बीचको व्यापार घाटा निकै फराकिलो बन्दै गएको छ । इण्डोनेशियासंग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ । सन् २०२१/२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्व २४ करोड भन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो ।'   

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तराष्ट्रिय मन्चहरुमा पनि दुवै देशको वलियो सहकार्य रहेको बताए । अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको बताए । 

अध्यक्ष गोल्छाले भने, 'नेपालमा इण्डोनेशियन पर्यटक भित्रयाउन सकिने अधिक सम्भाव्यता र आधारहरु छन् । हामी यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सक्छौं ।'

अध्यक्ष गोल्छाले अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यूनिकरण भिजन पेपरका लक्ष्यहरु रहेकाले यसको कार्यान्वयनमा नेपाल सरकारसंग समेत सहकार्यका लागि सहमती भएको जानकारी गराए । नेपालको आर्थिक विकासमा इण्डोनेशियाले हासिल गरेको सफलता बाड्न अध्यक्ष गोल्छाले आग्रह समेत गरे । नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेशियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्युनिकरण गर्ने दिशामा सहयोग गर्न आग्रह गरे ।

आगामी अक्टोवरमा इण्डोनेशियामा हुने ट्रेड एक्सोपोमा नेपालको सहभागिताका विषयमा पनि छलफल भएको बताइएको छ । यस्तै बैठकमा नेपालका लागि इण्डोनेशियाका राजदूत हेरु हर्टान्टो सुवालोले ट्रेड एक्सपोलाई दुुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न सुझाएका थिए । उनले व्यापार घाटालाई कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेशिया तयार रहेको भन्दै नेपालमा लगानीका सम्भाव्य क्षेत्रका वारे ठोस सुुझाव दिन महासंघलाई अनुरोध गरे ।

द्रुत आर्थिक विकास गरीरहेको इण्डोनेशिया नेपालको आर्थिक विकासमा आफना अनुुभव आदान प्रदान गर्न लालयित भएको पनि उनले बताए । उनले दुुवैै देशको संयुक्त लगानी मार्फत वस्तु तथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औल्याए ।

इण्डोनेशियामा आगामी अक्टोवरमा हुने एक्सपोमा वंगलादेश, नेपाल र इण्डोनेशिया बीच छुट्टै विशेष बैठकको आयोजना गरिने समेत उनले जानकारी गराए । उक्त बैठकलाई बढी भन्दा बढी परिणामदायी बनाउनुुपर्नेमा उनको जोड छ । 

Logo