लमजुङमा भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै

लमजुङमा भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै


लमजुङमा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ ।

परियोजना अन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेका १७ वटा घर पुनर्निर्माण थालेको हो ।

जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पुनर्लाभ परियोजनाका कार्यक्रम संयोजक हेमराज बिमलीले बताए ।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निर्माण कार्य सम्पन्न भएको हो ।

परियोजनाअन्तर्गत निर्माण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ । १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निर्माण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताए ।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।
भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ।

Logo