श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौँ बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गर्ने भएका छन्।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नेछन्। श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।
वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सो बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने जनाइएको छ।
सो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागीता रहनेछ। बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ।
यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ। बैठक सोमबार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।
प्रकाशित: २५ भदौ २०८० ०७:४१ सोमबार