कतारमा कोरोनाका कारण दसैँको रौनकमा कमी

  • तिलु शर्मा पौडेल; दोहा कतार

आस्थावानहरुको महान् पर्व बडा दशै विदेशमा रहेका नेपालीहरूले  पनि भव्य रूपमा मनाएका छन् । कोरोनाका कारण विगतमा जस्तो विविध कार्यक्रमहरू आयोजना गर्न असहज रहे पनि मान्यजनहरूको हातबाट टिका तथा आशीर्वाद लिने संस्कारले यो वर्ष पनि निरन्तरता पाएको छ ।

कतारमा यो साल सीमित व्यक्ति, बस्ती तथा कम्पनीका निवास भित्र  दसैँ मनाइएको छ । कोरोनाका कारण यहाँका हल तथा होटेलहरूको क्षमता अनुसार ३०% भन्दा बढी जम्मा हुन नपाइने नियम भएकोले होटलहरुमा दसैँ मनाउनेहरू कम देखिएका हुन ।

दशमी सोमबार परेका कारण पनि दसैँ मनाउनेहरूको सङ्ख्यामा केही कमी देखिएको हो ।किनकि खाडी राष्ट्र मा शुक्रवार मात्र साप्ताहिक बिदा मिल्ने गर्दछ  । यद्यपि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थागत विजयादशमी मनाएको छ । अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाले कम्पनीमा कार्यरत नेपालीहरू माझ दसैँ मनाए । कोरोनाका कारण संस्थागत गतिविधि गर्न नसकिएको थापाको भनाई छ । मोरङ सुनसरी सेवा समाजका अध्यक्ष दिलीप पराजुली, अर्धाखाची सेवा समाजका अध्यक्ष लगायतले पनि सीमित व्यक्ति माझ दसैँ मनाएका छन् ।

कतारका नेपाली टिकटक प्रयोगकर्ताहरू सुरज चन्द, वर्षा कोइराला लगायतको टिमले एक कार्यक्रमको आयोजना गरी दसैँ मनाएका छन् । नेपाली प्रवासी एकता मञ्चका अगुवाहरू, एनआरएनए आइसिसीका सदस्य रमेश भट्ट, आइसिसी सल्लाहकार टिबी कार्की लगायत विभिन्न सङ्घ संस्था, व्यवसायी तथा बुद्धिजीवीहरूले साँघुरो घेरा भित्रै दसैँ  मनाएका छन्।

 

प्रकाशित: ११ कार्तिक २०७७ १५:०३ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी