प्रवास

मगर सङ्घ कतारले भव्यरूपमा मनायो 'माघ्या सकराटी'

15 Shares

दोहा कतार ।

नेपाल मगर सङ्घ, शाखा कतारले मगरहरूको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी भव्यरुपमा मनाएको छ ।

पर्वको अवसर पारेर सङ्घका का.बा. अध्यक्ष अभिमत पुन मगरको सभापतित्वमा र नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार भरत बुढा मगरको प्रमुख आतिथ्यमा सहानियाको अल दोसरी गार्डेनमा पर्व मनाइएको हो । ‘नेपाली कला तथा संस्कृतिलाई संरक्षण र संवर्धन गरौँ मगरहरूको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी २०२१ लाई भव्यताका साथ सफल पारौँ’ भन्ने नाराका साथ वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

दीप प्रज्वलन, राष्ट्रिय गान, मगर गान र प्रथम सहिद क्याप्टेन लखन थापा मगर र अन्य ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारणासहित औपचारिकरूपमा सुरुवात गरिएको थियो । दित्तीय उपाध्यक्ष केशव घर्ती मगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक केशव राना मगरले माघ्या सकराटीको बारेमा जानकारी गराएका थिए ।

मगरहरुको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिंदै प्रशान्त थापा मगर कतारको मगरहरूको निम्ति २०२१–२२ का लागि सांस्कृतिक बाङ (राजा) चुनिएका छन् । महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्ने खेल आयोजना गरिएको थियो ।

चेयरतर्फ सहभागी पन्ध्र प्रतियोगीहरूलाई पछि पार्दै माया मगर विजयी भएकी छिन् भने डोरी तान्ने प्रतियोगितातर्फ ५ समूहलाई पछि पार्दै नेपाल मगर सांस्कृतिक परिवारका समूह प्रथम भएको थियो । कार्यक्रममा मगरहरूको विविध संस्कृति झल्काउने नृत्यहरू हुर्रा, कौरा, सालैजो, चुड्का, टप्पा, लोक गीतमा सङ्घका कलाकारहरुले सांगितिक प्रस्तुति राखेका थिए ।

प्रमुख अतिथि बुढा मगरले नेपालका मगरहरूले माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्ने, हिउँ पग्लने, पात झरेर नाङ्गो बनेका डालीहरूमा मुना पलाउने सम्भावना बढ्ने, उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम सुरुवात भएको आभासमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुसीयाली मनाउन थालेको दिन महिना हुँदै बर्खा अनि हिउँद सकिएपछि फेरि अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले ‘माघे संकराती’ लाई मगरहरू ‘सारल्हेस’ (नयाँ वर्ष) भनी मनाउ थालेको र उक्त दिन मरेका पुर्खाहरूलाई पानी चढाउने डी डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रूपमा मानेका बताउँदै प्रवासमा बसेर पनि आफ्नो चाड पर्व र कला संस्कृति भेषभुषा भाषालाई बचाइ राखेको बताए ।

कार्यक्रमको समापन गर्दै सभापति पुन मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरूलाई धन्यवाद दिँदै सङ्घले आफ्नो भेषभुषा, भाषा लिपि, संस्कृतिलाई सधैँ संवर्द्धन र प्रवर्धन गर्दै अघि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम संघका महासचिव विवेक पुलामी मगरले सञ्चालन गरेका थिए । www.magarsanghqatar.org राखी सङ्घको औपचारिकरूपमा वेभसाईट पनि हिजोबाटै सञ्चालन गरिएको छ ।

 

 

प्रकाशित: ४ माघ २०७७ १३:५७ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी