चार वर्षपछि बल्ल खुल्दै तातोपानी नाका

चार वर्षपछि बल्ल खुल्दै तातोपानी नाका


सिन्धुपाल्चोक

०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।

भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी) ले तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारी अनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।

उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ । बसपार्कदेखि मितेरी पुलसम्मको एक किलोमिटर सडक भोटेकोसी नदीबाट २० मिटर वाल उठाएर पुनर्निर्माण गरिँदै छ । वैशाख पहिलो हप्तासम्म सो सडक निर्माण सम्पन्न गर्ने लक्ष्य सिआरसिसीले लिएको मगरले बताए ।

पुनर्निर्माणमा नेपाली र चिनियाँ गरी करिब १२ सय मजदुर सक्रिय रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलका डिएसपी कृष्ण गुरुङले बताए । ‘मितेरी पुलको पुनर्निर्माणमा चिनियाँ मात्रै संलग्न छन्,’ उनले भने, ‘चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले मितेरी पुल बनाउन सुरु गरेको छ ।’
नयाँ पत्रिकाबाट

Logo