काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आजदेखि आवेदन खुल्ने भएको छ । आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
आवेदन भर्न कुनै शुल्क नलाग्ने अमेरिकी राजदूतावासले प्रष्ट पारेको छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न अमेरिकी राजदूतावासले सुझाएको छ ।
कसरी भर्ने डिभी ?
डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले http://www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् । आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ ।
तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे अयाेग्य ठहरिने छ । तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्नेछ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
प्रकाशित: १७ असोज २०७५ ०९:५५ बुधबार