कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन


जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले  गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि  बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए । 

उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखौं रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरको आरोप लगाए । 

तराई–मधेशकै सबैभन्दा पुरानो सदरमुकाम मध्येका एक रहेको जलेश्वर अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुन सकेको छैन । 

जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार शाहले बताए । उनले जलेश्वरबासी २४ सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।  

जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वय लगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डङ्गुर छ । वि.सं. २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।  

बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले  दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा नं २ का वडाध्यक्ष वरुण दाहालले बताए । रासस

Logo