कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुने–महामन्त्री कोइराला

कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुने–महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल  भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिए ।
    
उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गरे । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको बताए ।
    
महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लगाए । उनले कांग्रेसको महाधिवेशन घोषित मिति आगामी भदौमा सम्पन्न हुनेछ भन्दै यसका लागि क्रियाशील सदस्यको नवीकरणको कार्य भइरहेको जानकारी दिए । 

Logo