४० वर्षदेखि भारतमा थुनिएका दीपक जैसी कारागारमुक्त

४० वर्षदेखि भारतमा थुनिएका दीपक जैसी कारागारमुक्त


कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिना शनिबार रिहा भएका छन्।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधबार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रबारदेखि शुरु गरिएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपक कारागारमुक्त भएका हुन्। दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागि नसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बताए।

जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो। कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए। तर उनको मुखबाट कुनै वाक्य निस्किएन।

उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए। उनका वकिल सिन्हाले भने, ‘उनको मुद्दा सकिएको होइन। तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो।’

तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिबार रिहा भएका हुन्। दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन्। त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ।

उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए। त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका भाइ प्रकाशचन्द्रले बताएका थिए। उनी बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए। बीबीसीबाट

Logo