मानव बेचबिखनमा संलग्न ३ जना पक्राउ

मानव बेचबिखनमा संलग्न ३ जना पक्राउ


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन भरतपुर महानगरपालिका-१९ बस्ने ४४ वर्षीय मौसम भन्ने केश बहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका-१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नविन अधिकारी भन्ने नबराज अधिकारी रहेका छन् ।

उनीहरूमध्ये बिमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केश बहादुरलाई चितवन भरतपुर महानगरपालिका-३ बाट शुक्रबार र नबराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको हो ।

उनीहरूमध्ये बिमलाले पीडितलाई फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाई हुने काममा लगाइदिने भनि काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्टहाउसमा सुरुमा वेटरको काम लगाई डर, धाक, धम्की देखाई वेश्यावृतिमा लगाएको अभियोग छ ।

केश बहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको विभिन्न स्थानमा बन्धक बनाई श्रीलङ्कासम्म लगी अलपत्र बनाएको तथा नवराजले पीडितलाई लिबियामा क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारी दुवई हुँदै लिबियामा लगि कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
 

Logo