हेरफेरपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरुको व्यापक सरुवा

हेरफेरपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरुको व्यापक सरुवा


काठमाडौं ।

मन्त्रिपरिषद् हेरफेरपछि बिहीबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ । सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो।

सचिव कोइराला ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन् । स्वास्थ्यमा हुँदा पूर्वसचिव भीमप्रसाद उपाध्ययसँग सामाजिक सञ्जालमा उनको विवाद भएको थियो।

सचिव कोइरालासँगको विवाद र प्रधानमन्त्रीप्रति कटाक्षका कारण पूर्वसचिव उपाध्ययलाई साइबर क्राइमको मुद्दा चलाएर जेल पनि हालिएको थियो । रुखो स्वभावका कारण नै उनी विवादमा आउने गरेका छन्।

त्यस्तै संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ। सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ।अन्नपूर्णबाट

Logo