दुई सातामा विदेशमा थप ४१ नेपालीको काेराेनाबाट निधन

दुई सातामा विदेशमा थप ४१ नेपालीको काेराेनाबाट निधन


विश्वव्यापीरुपमा फैलिएको काेरोना भाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा आठ, फ्रान्समा एक, माल्दिम्समा एक, बेल्जियममा एक र पाेर्चुगलमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हाे । सङ्घअन्तर्गत कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले यसकाे जानकारी दिएका हुन्। 

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म  ५४ देशमा एक लाख सात हजार ८६  नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना  कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ। सङ्घले डा सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २००  चिकित्सक परिचालन गरेको छ।  

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना सङ्क्रमित पुगेकोमा ७६  दशमलव ६ प्रतिशत अर्थात् तीन  लाख ९८ हजार ४८३  जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणका कारण सोमबार साँझसम्म छ हजार ५३१ जनाको निधन भएको छ।  

Logo