एनआरएनए युएईको समन्वयमा थप २० जनालाई निःशुल्क हवाई टिकट

एनआरएनए युएईको समन्वयमा थप २० जनालाई निःशुल्क हवाई टिकट


एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्धार गरेको छ। कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २० जना नेपालीहरुलाई निःशुल्क हवाई टिकट दिएर र पिसिआर पनि गराएर नेपाल एयरलाइन्समार्फत नेपाल फर्किएको जानकारी एनआरएनए युएईका कार्ववाहक अध्यक्ष निरन्जन सिलवालले  दिएका हुन्।  

साउन ५ गते मंगलबार (आज) नेपाल फर्किएका धेरै नेपाली युवाहरूलाई एनआरएनए युएईले आफ्नो सेल्टरमा राखेर सबै कागजपत्र मिलाएर नेपाल पठाएको कावा अध्यक्ष सिलवालले जानकारी दिएका छन्। भिसा अवधी सकिएर समस्यामा परेका २० जना नेपाली कामदारहरुलाई नेपाली दूतावास अबुधाबीको सहजीकरणमा आउटपास उपलब्ध गराएर नेपाल फिर्ता पठाएको हो। गत असार ४ मा पनि एनआरएनए युएईले ३५ जना नेपालीहरुलाई उद्वार गरेको थियो।

एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएका, भिजिट भिसामा आएर समस्यामा परेका, विभिन्न कारण परेर आउट पास लिएर नेपाल फर्किनु पर्ने अवस्थाका २० नेपालीहरु मंगलबार नेपाल पुगेका र निजहरूको होटेल क्वारेन्टाइनको व्यवस्थापन पनि एनआरएनएले नै गर्ने परियोजनाका संयोजक राजेन्द्रकुमार राउतले बताए।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत बैदेशिक रोजगार तथा कल्याणकारी विभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत यो सहयोग उपलब्ध गराएइको एनआरएनए युएईले बताएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात अवरुद्ध हुँदा युएईमा समस्यामा परेका केही नेपालीहरुलाई यही अभियान अन्तर्गत गत जेठ ७ मा  अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जनालाई  खाद्यान्न सहयोग गरिएको थियो । त्यसको लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको थियो। 

युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ । विश्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ।

मजदुरमैत्री काममा अग्रसर एनआरएनए युएई नेपाली कामदारहरुको सुखदुःखको साथी बन्दै गएको छ । युएई लगायत अन्य देशमा रोजगारीमा रहेको अवस्थामा श्रम सम्बन्धी कुनै समस्या उत्पन्न भएमा नेपाल फिर्ताको लागि निःशुल्क हवाई टिकट र अन्य सबै सेवाहरु प्रदान गरिने भएकोले एनआरएएका विभिन्न देशमा रहेका पदाधिकारीलाई सम्पर्क गर्न कार्यक्रम संयोजक राउतले सुझाव दिएका छन्।

Logo