एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, के छ आवश्यक योग्यता ?

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, के छ आवश्यक योग्यता ?


लामो समयको तयारीपछि नेपाली श्रमिकले  इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ । सूचनामा ३ सय पुरुष र ७ सय महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलव ५ हजार ३ सय एनआईएस (रु एक लाख ९३ हजार)  तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय कामदार पठाउने समझदारी गरेको थियो ।

इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउँछ । रोजगारमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जाइएको छ ।

रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्छन् । उनीहरूको उचाइ कम्तीमा एक दशमलब पाँच मिटर र ४५ किलो तौल हुनुपर्छ । त्यस्तै, कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी   तालिम लिएको वा १० जोड दुई सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको  हुनुपर्ने जनाइएको छ ।

आवेदन दिनेहरू विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । रासस

Logo