किन आत्महत्या गर्दैछन् अमेरिकी संसदमा भएको दंगा रोक्न खटिएका प्रहरी ?

किन आत्महत्या गर्दैछन् अमेरिकी संसदमा भएको दंगा रोक्न खटिएका प्रहरी ?


सन् २०२० को नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका थिए। 

बाइडेनको जितलाई अमेरिकी संसदले अनुमोदन गर्न जनवरी ६ मा बैठक बस्नै लाग्दा ट्रम्प समर्थकले संसद भवन घेरे। उनीहरूले संसद भवन भित्रै छिरेर अनुमोदन प्रक्रियालाई रोक्ने प्रयास गरे। ‘क्यापिटल हिल’ स्थित अमेरिकी संसद (कंग्रेस) मा भएको उक्त घटनालाई ‘क्यापिटल दंगा’ को संज्ञा दिइएको छ। दंगामा संलग्न भएको आरोपमा ५ सय जनाभन्दा बढीलाई गिरफ्तार गरिएकोमा हाल अनुसन्धान भइरहेको छ। 

सो दंगामा चार जनाको मृत्यु भएको थियो भने दंगाकै भोलिपल्ट दंगा सम्हाल्न खटिएका प्रहरी ब्रायन सिकनिकको पक्षघात (स्ट्रोक) का कारण निधन भयो। 

‘क्यापिटल दंगा’ नियन्त्रणमा खटिएका प्रहरीमा अर्को अनौठो प्रवृत्ति देखिएको छ। दंगा भएको तीन दिनमै दंगा नियन्त्रणमा खटिएका प्रहरी हवार्ड लाइबेनगुडले आत्महत्या गरे। 

अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’लाई दिएको एक अन्तर्वार्तामा हवार्डकी पत्नीले हवार्डलाई दंगाको क्रममा टाउकोमा चोट लागेपछि उनले छुट्टै मान्छेजस्तै व्यवहार गर्न थालेको बताइन्। 

हवार्डको आत्महत्याको केही सातापछि दंगा नियन्त्रणमा खटिएका अर्का प्रहरी जेफ्री स्मिथले पनि आत्महत्या गरे। त्यसपछि जुलाई १० मा अर्का प्रहरी काइल डेफ्रेट्यागले आत्महत्या गरे। जुलाई २९ मा गन्थर हासिदा ‘क्यापिटल दंगा’ नियन्त्रणमा खटिएका प्रहरीमध्ये आत्महत्या गर्ने चौथो प्रहरी बने। 

यसरी एकपछि अर्को गर्दै प्रहरीहरूले आत्महत्या गर्नुलाई अहिले अमेरिकामा विशेष महत्वका साथ हेरिँदैछ। 

किन गर्दैछन् आत्महत्या ?

 ती प्रहरीले आत्महत्या गर्नुको यकिन कारण आधिकारिक श्रोतबाट नखुलेको भए पनि आत्महत्यालाई ‘क्यापिटल दंगा’ले प्रहरीहरूमा सिर्जना गरेको मानसिक तनावसँग जोडेर हेरिँदैछ। 

‘द न्यूयोर्क टाइम्स’ का अनुसार ‘क्यापिटल दंगा’ मा खटाइएका ८ सय ५० मध्ये १ सय ३८ जना प्रहरीलाई भौतिक चोट पुगेको थियो। युद्ध र दंगामा संलग्न हुने गरेका मानिंसमा भौतिक क्षतिसँगै अन्य क्षति पनि हुने गरेको पाइन्छ। ‘क्यापिटल दंगा’ का कारण प्रहरीहरूमा सम्भावित ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसर्डर (पिटिएसडी) र अन्य मानसिक बिमारीको लेखाजोखा भने रहेको छैन। यस्ता पक्ष आत्महत्याको कारण हुन सक्छन्। 

अमेरिकी संसदमा भएको सुनुवाइमा बोल्दै ‘क्यापिटल दंगा’ नियन्त्रणमा संलग्न काला जातिका ह्यारी डुनले दंगा नियन्त्रणमा संलग्न प्रहरीलाई मानसिक स्वास्थ्य सहायता लिन आग्रह गरेका थिए। उनले आफू दंगा नियन्त्रणमा खटिँदै गर्दा आफूमाथि काला जातिलाई होच्याउने शब्द प्रयोग भएको पनि बताए। 
त्यस्तै ‘क्यापिटल दंगा’ ले प्रहरीहरूमा पारेको मानसिक प्रभावबारे गत साता चार जना प्रहरीले अमेरिकी संसदमा दिएको वयानबाट पनि थाहा पाउन सकिन्छ। 

दंगा नियन्त्रणमा खटिएका आक्विलिनो गोनेलले संसदीय समितिसमक्ष भनेका थिए,‘त्यो दिन निरन्तर रूपमा हामीलाई शारीरिक र मानसिक रूपमा सताउने दिन थियो ।’ 

Logo