नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन


नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।

नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।

दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गर्नुभएको थियो । बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गएिको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले जानकारी दिए । संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताए ।

लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्वीन्डनवासीले खुशी व्यक्त गरेका थिए । नेपाली एशोसिएशन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

हालैमात्र संस्थाले स्वीन्डनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एशोसिएशनका अध्यक्ष गुरुङले जानकारी दिए ।

सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गर्नुभएको यो घुम्ती सेवा पुनः सञ्चालनमा आएको हो ।

Logo