‘गैरआवासीय नेपाली संघको महाधिवेशन तत्काल गर्नुपर्छ, ६ महिना थप्ने प्रावधान विधानमै छैन’

‘गैरआवासीय नेपाली संघको महाधिवेशन तत्काल गर्नुपर्छ, ६ महिना थप्ने प्रावधान विधानमै छैन’


गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको विश्व भेला सकिएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का ८० प्रतिशतभन्दा बढी वर्तमान अध्यक्ष, संघका पूर्व केन्द्रीय अध्यक्ष र सरोकारवालाहरू सहभागी विश्व भेला महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।

गैरआवासीय नेपाली संघ अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले छलफलको निष्कर्ष र निर्णय पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिने जानकारी दिएकी छन्।

‘६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन’

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आफ्नो कार्यकाल आफैं ६ महिना थप गर्ने प्रावधान गैरआवासीय नेपाली संघको विधानमै नरहेको स्पष्ट पारे।

उनले संघमा आफैंले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए। ‘संरक्षक परिषद्लाई जिम्मा दिए १ महिनाभित्र समाधान गर्न सक्छौं भनेका थियौँ, तर गरेको निर्णय पनि लागू भएन,’ उनले भने ।

‘संस्थाको हित या व्यक्तिगत स्वार्थ ?’

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले अरुलाई हिलो छ्याप्ने, अरुलाई दोष लगाएर आफू चोखिने काम गर्न नहुने बताएका छन्। २०२१–२३ का लागि अध्यक्ष पदका उम्मेदवार आचार्यले गैरआवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हितमा काम गरेको या व्यक्तिगत स्वार्थमा काम गरेको भन्ने कुरालाई छुट्याउनु पर्ने बेला आएको बताए।

दशौं महाधिवेशन सकेर गैरआवासीय नेपालीका नागरिकता, सम्पत्तिका सुरक्षादेखि सामूहिक लगानी र सामूहिक सुरक्षा कोष लगायतका विषयमा काम गर्नुपर्ने बेला आएको आचार्यले बताए।

‘संसारभरका नेपालीहरुलाई नेपालसँग जोड्नु पर्ने बेला आएको छ। नेपाल हामी जन्मिएको ठाउँलाई कसरी राम्रो बनाउनेभन्दा पनि अहिले संस्था कसरी कब्जा गर्ने तथा कतै कतै संस्थालाई व्यक्तिगत फाइदाका लागि प्रयोग त भइरहेको छैन भन्ने विषयमा सोच्ने बेला आएको छ,’ उनले भने।

आचार्यले एनआरएनएमा देखिएको समस्याको निकास खोज्न नेतृत्वलाई आग्रह गरे। ‘अहिलेको समस्या समाधान गर्नका लागि कहिले संरक्षक परिषद्लाई, कहिले क्षेत्रलाई दिने भनिन्छ, कहिले दुई जनाको कमिटी कहिले चार जनाको कमिटी भनिन्छ। तर समस्या बल्झाउने मात्रै काम भएको छ,’ आचार्यले भने। उनले आत्माआलोचना गरेर संस्थाको हितका लागि अगाडि बढ्न सबैलाई आह्वान पनि गरेका छन्।

‘राष्ट्रिय समन्वय परिषद्हरूको भावना नेतृत्वले सुन्नुपर्छ’

भर्चुअल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको भावना र धारणाको सुनुवाइ गर्नुपर्ने सुझाव दिएका छन्।

महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्दतिलाई आत्मसाथ गर्न आग्रह गरेका छन्। ‘विधि र पद्दति अनुसार एनआरएनए चलोस् भन्ने हाम्रो मूल उद्देश्य हो, डेमोक्रेटिक स्पिरिट अनुसार एनआरएनएको विधि र प्रक्रियाअनुसार समस्या समाधान गरेर चाँडोभन्दा चाँडो टुंगोमा पुग्नुपर्छ,’ महतले भने।

‘एनसीसीहरू संस्थाका पिलर’

भेलालाई सम्बोधन गर्दै संघका सल्लाहकारहरू विश्वआदर्श पण्डित, त्रिलोक गुरुङ, सोम सापकोटा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरूले एनसीसीहरू संस्थाका पिलर भएको बताए।

वक्ताहरूले एनसीसीहरूको भेलाबाट कोही पनि डराउन नहुने बताए।

कार्यक्रममा भेलाका संयोजक बुद्धिसागर सुवेदीले एनआरएनमा देखिएको समस्याको जड पत्ता लगाएर समाधान गर्न माग गरे। हवाइजहाज क्याप्टेनले मात्र उडाउन नसकेकाले सबै मिलेर अगाडि बढ्न नसकेमा दुर्घटनामा पर्न सक्ने टिप्पणी गरे। विधानमा एनसीसी अध्यक्षहरुको भेला गर्न सकिने स्पष्ट लेखिएको उनले बताए।

संयोजक सुवेदीले भने, ‘संस्था रहेमा हामी सबै रहन्छौं। संस्थाका कारण हामी यो ठाउँमा आइपुगेका छौं। एनसीसीहरूले स्वायत्त रुपमा काम गर्न पाउनु पर्छ।’

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदीलगायतले गैरआवासीय नेपाली संघको दशौं महाधिवेशन र चुनाव निष्पक्ष र पारदर्शी ढंगबाट जतिसक्दो चाँडो गर्न सुझाव दिएका छन्।

वक्ताहरूले हाल स्थगित गरिएको संघको दशौं महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग समेत गरेका छन्। भेलामा बोल्ने वक्ताहरूले एनआरएनएलाई एकताबद्ध बनाउन उक्त कार्यक्रम गरिएको बताए।

झण्डै साढे चार घण्टा चलेको उद्घाटनसत्रको संयोजन र सञ्चालन एनसीसी अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेलले गरेका थिए।

उद्घाटनसत्र सकिएपछि सुरु भएको बन्दसत्रमा सहभागीहरूले नेपालमा भएको भारी वर्षाका कारण बाढी, पहिरोमा परी भएको धनजनको क्षति तथा एनसीसीहरूबाट सहयोग, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट एउटै विषयमा राष्ट्रिय समन्वय परिषदहरूमा गरिएका पत्राचारमा देखिएको भिन्नता र अन्तर्य, आइसीसीको विधान र परराष्ट्रको पत्र, ६५ प्रतिशत डेलिगेट्स चयनमा नयाँ कार्यसमितिको भूमिका तथा संस्थालाई निकास दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा संरक्षक परिषद्को भूमिका लगायतका विषयमा छलफल गरेका छन्।

Logo