इजिप्ट सरकारले आयोजना गरेको इस्मालिया महोत्सवमा नेपाल आकर्षण

इजिप्ट सरकारले आयोजना गरेको इस्मालिया महोत्सवमा नेपाल आकर्षण


इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिवल’मा नेपालले पहिलो पटक भाग लिएको छ। 

अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने यस महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चार जनाको टोली इजिप्ट पुगेको छ। टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादकवादक नरेश प्रजापति सहभागी छन्।

महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी छन्। ‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास पनि गरेका थिए।

उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेको थियो। नेपाललाई महोत्सवमा विशेष आकर्षणका रूपमा लिइएको छ।

‘इस्मालिया फोकलोर फेस्टिभलमा नेपाल पहिलो पटक सहभागी भएको हो’, नेपालको प्रतिनिधित्व गरेका सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले भने, ‘विश्वप्रसिद्ध यस महोत्सवमा नेपालप्रति जुन आकर्षण देखिएको छ यसले हामीलाई अझ उत्साहित बनाएको छ। नेपालको प्रस्तुति सहभागी मुलुकका लागि जति चासोको विषय बनेको छ त्यत्तिकै रोमाञ्चकारी पनि मानेका छन्।’

यस प्रकारका अन्तर्राष्ट्रिय मञ्चलाई सदुपयोग गर्न सके नेपालको सांस्कृतिक विविधतालाई विश्व रंगमञ्चमा पुर्याउन सकिने महाप्रबन्धक राईले बताए। महोत्सव इस्मालियाका विभिन्न सांस्कृतिक एवं ऐतिहासिकस्थलमा सहभागी मुलुकको प्रस्तुतिसहित सात दिनसम्म चल्नेछ।

Logo