निर्वाचन नहुँदा एनआरएनएभित्र बढ्यो अराजकता, पदाधिकारीको इगोले संस्था विघटनाेन्मुख

निर्वाचन नहुँदा एनआरएनएभित्र बढ्यो अराजकता, पदाधिकारीको इगोले संस्था विघटनाेन्मुख


‘म बक्सर हो, रिङभित्र र बाहिर खेल्न मज्जाले आउँछ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई बक्सिङ खेल्न म निमन्त्रणा दिन चाहन्छु’ एनआरएन यूके अध्यक्ष प्रेम गाहामगरले डिसेम्बरको पहिलो साता एक सार्वजनिक कार्यक्रममा अध्यक्ष पन्तविरुद्ध भौतिक रूपमा जाइलाग्ने धम्कीयुक्त भाषा प्रयोग गरेर दिएको अभिव्यक्ति हो यो ।

गाहामगर त्यतिमा मात्र अडिएनन् गैर आवासीय नेपाली संघको निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्रविरुद्ध अदालतमा गएकोमा संघप्रति नै चुनौती दिँदै कानुनी उपचार खोज्ने भन्दै केन्द्रीय नेतृत्वविरुद्ध आत्तिजनक अभिव्यक्ति दिए । पन्तलाई हिटलरको संज्ञा दिइँदै उनले एनआरएनए युकेले अहिले ट्रेलर देखाएको, पछि आईसीसीलाई पूर्ण मुभी देखाइदिने बताए । 

गैर आवासीय नेपाली संघको विश्वभर ८० भन्दा बढी देशमा राष्ट्रिय सञ्जाल छ । संघको विधानअनुरूप ती शाखाहरू खोलिएका हुन् । संघको केन्द्रीय नेतृत्वको नीति निर्देशन अनिवार्य रूपमा मान्नु पर्ने उनीहरूको कर्तव्य हो । तर, एनआरएनएको गत अक्टोबरमा तय गरिएको १०औँ महाधिवेशन सरकारी हस्तक्षेपका कारण रोकिएपछि सङ्घका शाखा (राष्ट्रिय) समितिमा अराजकता बढ्न थालेको छ ।

गत जुलाईमा निर्वाचित भएर आएका राष्ट्रिय समितिका अध्यक्षहरू कुन राजनीतिक दल वा दलको गुटको पछि लाग्दा संघभित्र अराजकता बढ्दै गएको हो भन्न कन्जुस्याइँ गरिराख्नु पर्दैन । 

गैर आवासीय नेपाली सङ्घका केन्द्रीय अध्यक्ष पन्तको निर्देशनलाई समेत अवहेलना गर्दै गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले दुई वटा राष्ट्रिय भेला सम्पन्न गरेका छन् । करिब एक दर्जन देशमा अध्यक्षहरूको भेलाको आयोजना गरेर संघको केन्द्रीय नेतृत्वविरुद्ध दर्जनभन्दा बढी अवैधानिक निर्णयहरू गराएका थिए । यद्यपि ती निर्णयहरू भने कार्यान्वयन हुन सकेका छैनन् । भेलाले संघको विधिविधानको ठाडो उल्लंघन गर्दै संघको निर्वाचनमा एक समूहको पक्षमा निर्णय गरेको थियो । 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) जापानको २०२१ को निर्वाचनमा केन्द्रीय तथा कथित एमआइएस एपको दुरुपयोग गरेर चरम धाँधली गरेर एक पक्ष जितेको घोषणा गरेको दाबी गर्दै एउटा समूहले निर्वाचनको नतिजालाई अस्वीकार गरेको छ । निर्वाचनको नतिजालाई स्वाभाविक रूपमा नलिँदा सो समूहले सदस्यताको केन्द्रीय एमआइएसमा जबरजस्ती सदस्यता बनाएको, मनलाग्दी रूपमा विद्यार्थी र जो कोहीलाई पनि सदस्य बनाएको, १७ सयभन्दा धेरै फर्जी मत हालेर पुरै चुनावी प्रक्रियालाई नियन्त्रणमा लिएर धाँधली गरेको आरोप लगाएको छ । 

विधि र प्रक्रियाबाट निर्वाचित अध्यक्ष शिवराज पौडेललाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा उल्टै पुरानो कार्यसमिति ब्युँताउने भन्दै भ्रामक प्रचारबाजी गरिएको छ। यस्तै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, युके, अमेरिकालगायतका देशले सदस्यहरूबाट उठाएको लाखौँ रुपैयाँ केन्द्रमा बुझाएका छैनन् । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले सर्वसाधारणबाट उठाएको पैसालाई केन्द्रीय निर्वाचनको जुवालालमा राखेका छन् । 

गुरुङले सार्वजनिक रूपमै सङ्घका पञ्जिकृत सदस्यहरूबाट उठेको पैसा केन्द्रीय प्रतिनिधिको विवाद नटुंगिदासम्म केन्द्रमा नपठाउने भन्दै करिब एक करोड रुपैयाँ आफ्नै खातामा राखेका छन् । पञ्जिकृत सदस्यहरूले बुझाएको सो रकम संघको विधानअनुरूप केन्द्रीय खातामा नपुग्दा लाखौँ रुपैयाँ हरेक महिना संस्थाले घाटा व्यहोर्नु परेको छ । 

गैर आवासीय नेपाली संघ युके, अमेरिकालगायतका देशले संघको महाधिवेशन प्रतिनिधि विवाद देखाएर लाखौँ रुपैयाँ आफ्नै खातामा राखेर संस्थाभित्र आर्थिक अराजकताको सुरुआत गरेका छन् । निर्वाचनमा अन्योलमा, अध्यक्ष विकल्पविहीन हुँदै गैर आवासीय नेपाली संघको १०औँ महाधिवेशन पटक पटक रोकिँदा संघ विघटनको संघारमा पुगेको छ । 

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सरकार र नेपाली काँग्रेसको पार्टीको ठाडो हस्तक्षेपका कारणले निर्वाचन हुन नसकेको अभिव्यक्ति दिँदै आएका थिए । तर पाटन उच्च अदालतले डिसेम्बरको पहिलो साता निर्वाचन गर्न बाटो खोलिदिए पनि पन्तले निर्वाचन गर्ने साहस गरेका छैनन् । उनले संघको विधिविधान विपरीत निर्वाचन प्रक्रिया अवरुद्ध गरेर भागबन्डामा नयाँ नेतृत्व ल्याउन खोजेको चर्चा संघभित्र चुलिएको छ । 

संघको विधानअनुरूप ६ महिना कार्यकाल थपेका पन्तले निर्वाचन गराउन नसक्दा उनीसंग तीन वटा मात्र विकल्प बाँकी छन् । निर्वाचन गराउन नसक्ने हो भने पन्तले नैतिक जिम्मेवारी दिएर पदबाट राजीनामा दिने उत्तम विकल्प हो । पन्तले राजीनामा दिएमा वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले कार्यवाहक अध्यक्षको रूपमा संघको निर्वाचनको लागि नेतृत्व लिन सक्छन् । 

दोस्रो विकल्प पन्तको कार्यकाल सकिएपछि संघको संरक्षक परिषद्ले निर्वाचन गराउने छ । त्यसको नेतृत्व पूर्व अध्यक्ष शेष घलेले गर्ने छन् । घलेले समेत निर्वाचन गराउन नसकेमा गैर आवासीय नेपाली संघ विघटनको बाटोतिर लम्किने छ । 

पन्तले संस्थालाई विघटनमा पुर्‍याएको अभियोगमा कलङ्कको टीका लगाउने  छन्  । उनले साहस गरेमा संघ विघटनबाट जोगिने एक मात्र विकल्प भनेको सङ्घका ६४ देशबाट प्राप्त महाधिवेशन प्रतिनिधिहरूले दिने निर्णय अर्थात् निर्वाचन हो । यो पन्तको लागि अन्तिम विकल्प हुन सक्छ ।

Logo