बेलायतमा कार्यरत चिकित्सक भन्छन्, ‘सजग भए कोरोना महामारी आफैं हट्छ’

बेलायतमा कार्यरत चिकित्सक भन्छन्, ‘सजग भए कोरोना महामारी आफैं हट्छ’


साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाएर मात्र कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूले बताएका छन्। 

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तर्संवादमा बोल्दै उनीहरूले सो उपाय सुझाएका हुन्। 

कार्यक्रममा बेलायतमा कार्यरत जीपी (जनरल प्राक्टिसनर) डा. आरती थापाले भनिन्, ‘ह्याण्ड, फेस, स्पेस र भ्याक्सिनले मात्र महामारीबाट छुटकारा दिलाउन सक्छ अन्यथा यस्ता महामारीहरू आइरहन्छन्।’ उनले साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने, मास्क लगाउने र एक आपसमा दुई मिटरको सामाजिक दूरी कायम गर्ने साथै कोरोना भाइरसको खोपका डोजहरू लगाउन सबैलाई आग्रह गरिन्। 

अर्का कन्सल्ट्यान्ट डा.शम्भु आचार्यले पनि कोभिडलाई हेलचेक्रयाइँ गर्न नहुने तर यसबाट आत्तिन पनि नहुने बताए। नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, पर्याप्त सुत्ने र खोप लगाएमा कोभिडबाट हुने असर धेरै कम गर्न सकिने उनको धारणा थियो। ‘खोपले आफूलाई त बचाउँछ नै आफ्नो परिवार, आफन्त, समाज, सिंगो राष्ट्र र विश्वलाई नै कोभिडबाट बचाउन मद्दत गर्छ,’ उनले भने।

एकै व्यक्तिले फरकफरक खोप लगाउँदा मानिसहरूमा विभिन्न आशंका उत्पन्न भइरहेकोप्रति चिकित्सकद्वयले कुनै शंका–उपशंका नगर्न आग्रह गरे। ‘मिश्रित खोप लगाउँदा प्रतिरोधी क्षमता अझै राम्रो देखिएको विश्वास गरिएको छु,’ उनीहरूको भनाइ थियो ।

खोप लगाउन नचाहने मानिसहरूले के कारण खोप लगाउन नचाहेका हुन् भन्ने बुझ्नपर्ने र त्यो कुरा पाएपछि उनीहरुको चिन्ता हटाउन सकिने डा. थापाले बताइन्। उनले बेलायतमा धेरै मानिसहरूले खोप लगाइसकेको, तर अझै कोही लगाउन बाँकी भए वाक इन भ्याक्सिन सेन्टरमा सिधै गएर लगाउन सकिने पनि जानकारी दिइन्। 

खोपका बारेमा कुनै जिज्ञासा भए एनएचएस आप्सबाट वा ११९ नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सकिने पनि उनले बताइन् । डा. आचार्यले बेलायतमा खोप लगाउने दर राम्रो भएको बताउँदै नेपालमा भने खोपको सिमित उपलब्धताका कारण पनि खोप अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे। उता डा.थापाले भने खोप अभियान सफल पार्न एउटा विशाल संगठन परिचालन गर्नपर्ने भएकाले राजनीतिक, चिकित्सकीयलगायत धेरै क्षेत्रको उत्तिकै संलग्नता र सक्रियता चाहिने बताइन्।

कोभिडविरुद्ध खानेलगायत अन्य ओखती बजारमा आएको सन्दर्भमा डा.थापाले अहिले खाने ओखती छानिएका बिरामीलाई सोझै अस्पतालबाट दिइने गरिएको र जीपीले हालसम्म प्रेस्क्राइब नगरेको बताइन् भने डा. आचार्यले कोभिडविरुद्ध नाकबाट दिइने ओखती (हेपारिन) पनि परीक्षण भइरहेको र त्यो सफल भए झनै प्रभावकारी हुने बताए। 

Logo