मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह

मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह


गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सुझाव दिएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मंकिपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केस भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्यान्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमित फेला परेका छन् ।

सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखा परेको एकदेखि तीन दिनभित्र रोगीको  छालामा रेसा देखा पर्दछ । रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागमा फैलिँदै जान्छ । त्यसपछि रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन् ।  

मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७-१४ दिन हुन्छ। मंकिपक्सकाे अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केस हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई मंकिपक्सले गम्भीर जटिलता निम्त्याउन सक्ने र मृत्युसमेत हुने चिकित्सकहरूले बताएका छन् ।

अन्य भाइरल रोगका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलोपटक  देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये एकजनामा मृत्यु भएको पाइएको छ।  

Logo