नौ विकेटकाे फराकिलो अन्तरले हङकङसामु निरीह बन्याे नेपाल, उपाधि होडबाट बाहिरियो

नौ विकेटकाे फराकिलो अन्तरले हङकङसामु निरीह बन्याे नेपाल, उपाधि होडबाट बाहिरियो


हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। नेपाली टोलीले बिहीबार खेलेको आफ्नो दोस्रो खेलमा आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएकाे हाे।  

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रनमात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो। 

हङ्कङको जितमा ओपनर नताशा माइल्सले अविजित ३० रनको योगदान गरिन्। उनले २३ बलमा चार चौका पनि हिर्काएकी थिइन्।अर्की ओपनर मार्को हिल पाँच रनमा आउट भइन्। उनी रन आउट भई पेभेलियन फर्किएकी थिइन्। 

सान्जिन सहजादले पनि अविजित २० रनको योगदान गरिन्। उनले २७ बलको सामना गरी तीन चौका हिर्काइन्। हङ्कङविरुद्धको खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुबै अत्यन्तै फितलो देखिएको थियो।   

नेपालका लागि निवर्तमान कप्तान रुबिना क्षेत्रीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन्। सातौँ नम्बरमा क्रिज समाल्न आएकी रुबिनाले २५ रन बनाइन्। उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन्। 

नेपालका तीन ब्याट्रले त खातासम्म खोल्न सकेनन्। नेपालका तीन खेलाडी एक रनभन्दा अगाडि बढ्न सकेनन्। नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो। हङ्कङकी बलर इकरा साहरले तीन विकेट लिइन्। रुचिथा वेंकटेसले पनि दुई विकेट हात पारिन्। बेट्टी चान, मार्को हिल र केरी चानले पनि एक-एक विकेट लिए। 

त्यसअघि नेपाली टोलीले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको थियो। नेपाली ब्याट्रहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए। नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो।

यसअघि बुधबार खेलेको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो। नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। त्यो खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।

जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई-दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङ्कङ चार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन्। नेट रन रेटमा तान्जनियाभन्दा हङ्कङ अगाडि छ। हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन्। 

नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ। सोही दिन तान्जनिया र हङ्कङबिच अर्को खेल हुनेछ। नेपाल र जापान दुबै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार आपसमा भिडन्त गर्नेछन्। 

Logo