पाँचखालमा संचालित इँटा उद्योग वातावरणमैत्री बनाउन चेतावनी

पाँचखालमा संचालित इँटा उद्योग वातावरणमैत्री बनाउन चेतावनी


काभ्रे ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले नगरभित्र मापदण्डविपरीत सञ्चालित इँटा उद्योगका सञ्चालकलाई उद्योग वातावरणमैत्री बनाउन समय सीमा तोकेको छ । नगरसभाले यो आर्थिक वर्षभित्र इँट्टा उद्योग वातावरणमैत्री बनाएर मात्र उत्पादन थाल्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

“चालू आर्थिक वर्षभित्र इँटा उद्योग वातावरणमैत्री बनाएर मात्रै अर्को वर्ष उत्पादन गर्न पाइने विषय नगरसभाले पारित गरेको नगर उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् । उनका अनुसार गत असोजमा उद्योग वातावरणमैत्री बनाएर मात्रै सञ्चालन गर्न सञ्चालकलाई पत्र दिइएको थियो । नगरभित्र सात वटा इँटा उद्योग सञ्चालित छन् ।

चालू आवमै वातावरणमैत्री बनाएर मात्रै सञ्चालन गर्न दिइएको चेतावनीपछि व्यवसायीले नगर कार्यालयलाई ‘वातावरणमैत्री बनाउँछौँ’ भन्ने आश्वासन दिएका कारण हालको उत्पादन नरोकेको उपप्रमुख दनुवारले बताइन् । उनले भनिन्, “अर्को वर्ष व्यवसायीले की उद्योग वातावरणमैत्री बनाउनुप¥यो, हैनभने उद्योग बन्द गर्नुपर्छ ।”

नगरभित्रका इँटा उद्योगलाई वातावरणमैत्री बनाएर मात्रै सञ्चालनमा ल्याउनुपर्ने कदम चालिरहेका बेला थप १५ उद्योग स्थापनाका लागि प्रस्ताव आउँदा आफूले वातावरणमैत्री विना सञ्चालन गर्न अनुमति नदिएको नगरप्रमुख महेश खरेलले बताए । “विभिन्न प्रलोभनसहित हाल पनि उद्योग स्थापनाको प्रस्ताव आउँदा वातावरणमैत्री विना स्वीकृत नदिने भनेर फर्काएँ”, उनले भने । पाँचखालमा प्राकृतिक स्रोतको दोहन तथा वातावरण विगार्ने कुनै पनि उद्योग, कलकारखाना स्थापना हुन नदिने उनले जिकिर गरे ।

गत वर्ष नगरले पास गरेको वातावरण ऐनबाट ‘स्थानीय तहले मापदण्ड विपरीतका इँटा उद्योग बन्दगर्ने पूर्ण अधिकार नभएको’ जनाइएपछि वातावरण ऐनमार्फत मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग व्यवस्थित तथा वातावरणमैत्री बनाउन लागिएको हो । खरेलका अनुसार वातावरण प्रभाव मूल्याङ्कन (इआईए) अध्ययन गर्दा पाँचखालका सबै इँटा उद्योग स्वीकृत अनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा आएका हुन् ।

इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खयामलीले आफूहरु उद्योगलाई वातावरणमैत्री बनाउन उन्मुख भएको बताए । वडा नम्बर ७, ८, ९ र १२ मा मापदण्ड विपरीतका हाल सात वटा इँटा उद्योग र एक प्लाइउड कारखाना सञ्चालनमा छन् । औद्योगिक सञ्चालन ऐन २०५९ अनुसार भने मानववस्ती, विद्यालय, र वन क्षेत्रभन्दा पाँच सय मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ भने उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार घटाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ ।
रासस

Logo