वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल

वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असङलग्नताको विषयलाई महत्व दिइएको बताए । नेता रावलले संयुक्त राज्य अमेरिकाको मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेकाले यसबारे नेपाल र अमेरिकाले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री रहेका रावलले एमसीसीको सहयोगमा अमेरिकाको मात्रै ५५ अर्ब नभएको बताउँदै नेपालको पनि त्यसमा १३ अर्ब रहेकाले नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने कुरा राष्ट्रिय स्वाधीनताको हितमा नरहेको विचार व्यक्त गरे ।

नेता रावलले उक्त परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकाय संलग्न गराउनु परेमा एमसीसीको स्वीकृति लिनुपर्ने भनेर लेखिएकाले त्यो अव्यावहारिक हुने हुँदा यस्ता विषयवस्तुमा संवेदनशील हुनुपर्ने बताए । नेता रावलले समानताको आधारमा सम्झौता गर्न दुवै देशको परराष्ट्र मन्त्रालयबाट जवाफ आएमा उक्त सहयोग लिन हुने प्रस्ट पारे ।

Logo