अब हरेक स्थानीय तहमा स्काउट

अब हरेक स्थानीय तहमा स्काउट


काठमाडौं ।

संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गर्ने भएको छ । संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटी गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको हो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको नेपाल स्काउटको यसअघि जिल्ला तहसम्म मात्र संरचना रहेको थियो । युवा तथा बालबालिकाको सर्वाङ्गीण विकासमा क्रियाशिल स्काउटले शारीरिक तथा साहसिक खेल गतिविधिमा समेत आफूलाई सक्रिय राख्दै आएको छ ।

‘स्काउट यसअघि जिल्लामा मात्र थियो । यसलाई प्रादेशिक रुप दिएका छौ । सातै प्रदेशमा कमिटी बनाएर अधिकांश प्रदेशमा शपथको कार्यक्रम सकेका छौ । सबै स्थानीय तहमा रहेका विद्यालयसम्म पुग्ने लक्ष्य रहेको छ ।’ नेपाल स्काउटका निर्देशक समेत रहेका रामप्रसाद भट्टराईले भने ।

नेपाल स्काउटले प्रदेश नम्बर दुई र बागमती बाहेक सबै प्रदेशमा शपथको कार्यक्रम सम्पन्न गरिसकेको छ । बाँकी रहेका दुई प्रदेशमा समेत शपथको कार्यक्रम सक्ने भट्टराईले जानकारी दिए ।

नेपाल स्काउटको ऐन २०५० को संशोधनले मुख्यमन्त्री स्काउटको प्रदेश संयोजक र सामाजिक विकासमन्त्री प्रमुख स्काउट अर्थात बोर्डको अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही अनुसार केन्द्रिय स्काउटका अध्यक्ष लोकबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको उपस्थितीमा अधिकांश प्रदेशमा मुख्यमन्त्रीको शपथ गराएका छन् । मुख्यमन्त्रीले नवगठित समितिलाई शपथ गराउने व्यवस्था रहेको छ ।

राज्य पूर्नसंरचनासँगै स्थानीय र प्रादेशिक सरकार शक्तिशाली बनेको अवस्थामा स्थानीय तहका बालबालिकालाई समेट्ने स्काउटले सबै पालिकामा संरचना गठनको तयारी गरेको हो । ‘सबै पालिका र विद्यालयमा रहेको बालबालिका तथा युवालाई नैतिक र अनौपचारिक रुपमा शिक्षा सिकाउने उद्देश्यले सबै तहमा संरचना पुर्याउने लक्ष्य छ ।’ भट्टराईले भने ।

Logo