१३ मंसिर २०७८ सोमबार

एशियाकै अग्रणी काभ्रेको सहकारी बिन्धवासिनी मार्फत ४० हजारलाई सेवा

  • प्रदीप के.सी.
    पनौती,

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढ्दै गएको छ । काभ्रे जिल्लाका १३ वटा स्थानीयतह कार्यक्षेत्र रहेको विन्धवासिनी साकोसको सदस्य संख्या ३३ हजार ४ सय ४८, समुह संख्या १ हजार ५ सय ७७ बाट शेयर पुँजी २८ करोड ९ लाख ३६ हजार रहेको शनिबारको वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिइएको हो ।

संस्थाका प्रमुख व्यवस्थापक के.वि. लामा स्याङ्तानका अनुसार संस्थाको बचत १ अर्ब ९४ करोड ९८ लाख १४ हजार र ऋण लगानी २ अर्ब ९ करोड २ लाख १३ हजार रहेको छ । त्यस्तै शैक्षिक बाल बचतकर्ता ७ हजार १ सय २५ रहेको यस संस्थाको आ.व. २०७५/०७६ को कुल नाफा ९ करोड ८९ लाख १५ हजार, कुल कारोबार २ अर्ब ६० करोड १३ लाख १२ हजार तथा कुल सेवाग्राही ४० हजार ५ सय ७३ रहेको जानकारी प्रमुख व्यवस्थापकले दिएका थिए ।

व्यवस्थापक लामाले संस्थाले १७ प्रकारका बचत कार्यक्रम र २१ प्रकारका ऋण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत ८१ हजारसम्म निःशुल्क राहत सेवा प्रदान गरी यस वर्ष ७० लाख ६३ हजार २ सय ६४ राहत रकम प्रदान गरेको जानकारी दिए ।

अझ संस्थाले किसान २ (दीगो किसान) कार्यक्रम सञ्चालनमा ल्याई पनौती, खोपासी, बनेपा र भकुण्डेवेंशीमा ८० किसान समुहमा २ हजार घरधुरीका किसान आबद्ध गराई २ सय ८० वटा तालिमका कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक एवं कृषि अधिकृत किरण जोशीले जानकारी दिए । त्यसमा पनि गोलभेंडामा मल्चीक गर्ने विधि, लहरे बाली प्रदर्शनी, माटो परीक्षण, घुम्ति बाली शिविर, कृषि मोबाइल एप्स र शुन्य डिग्रीको कूल च्याप्ट (फिज) २ वटा निर्माण समेत गरिएको कृषि अधिकृत जोशीले बताए ।

कार्यक्रममा पनौती, खोपासी, ढुंखर्क, पाँचखाल, बनेपा र भकुण्डेवेंशीका व्यवस्थापक, संयोजक र सहव्यवस्थापकहरुले आआफ्नो क्षेत्रका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठीमा ऋण सहायक भिमसेन बजगाईंले ऋण तथा लघुवित्त विभाग, व्यवस्थापक त्रिलोचन घिमिरेले लेखा परीक्षण, शेयर र बचत, मित्रप्रसाद दाहालले शिक्षा तथा प्रशिक्षण विभागका बारेमा आआफ्नो सुझावहरु व्यक्त गरेका थिए ।

 

त्यस्तै, उपसमितिहरुको तर्फबाट लघुवित्त उपसमितिका संयोजक पुनम घिमिरे, ऋण उपसमितिका संयोजक भिम के.सी., प्रचारप्रसार उपसमितिका संयोजक भिमसेनप्रसाद सापकोटाले आआफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । त्यसैगरी, स्वास्थ्य उपसमितिका संयोजक एवं कोषाध्यक्ष शान्त कुमार श्रेष्ठ, शिक्षा उपसमितिका संयोजक एवं सचिव रामशरण भण्डारी, लेखा तथा सुपरीवेक्षण उपसमितिका संयोजक सुन्दर श्रेष्ठले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

अध्यक्ष प्रदीप थापाले उद्घाटन मन्तव्य दिँदै एकवर्षभित्र संस्थामा भए गरेका अवस्था, अप्ठ्यारा, उपलब्धी र मुल्यांकनको बारेमा बोल्न उपस्थित पदाधिकारीहरुलाई रुलिङ्ग गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन सापकोटाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु गरी कुल ८० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित: १८ साउन २०७६ १७:५२ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी