अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्ने युग गएको जिकिर गरेका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले उर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङको विद्युत धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई संकेत गर्दै प्रश्न उठाएका हुन् ।
उनले विद्युत बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताए । ‘अहिले विद्युत बेच्नुपर्छ भन्ने छलफल भएको छ । विद्युत बेच्ने हो की प्रयोग गर्ने हो । हामीलाई विद्युत बेच्न पाए गर्व मान्छौं । अब विद्युत बेच्ने जमाना गयो । विद्युतबाट हाइट्रोजन,एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो हामी २ जीका कुरा गरिरहेका छौं । हाम्रो सोचाई साँघुरो छ ।’ उनले भने ।
त्यस्तै, मन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले संस्थाको सीइओ एउटै हुने भएकाले मर्जरमा जान नमान्नु पुरानो मानसिकता भएको टिप्पणी गरे ।
उनले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताए । ‘एचआइडिसियल र निफ्रालाई मर्ज गर्न प्रश्ताव राख्दा समेत त्यसमा रुचि देखिन । किन भन्दा संस्थामा अर्को मान्छे सिइओ हुन पाइनँ भन्ने स्वार्थ रहेका छन् । निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ ।’ उनले भने ।
साथै मन्त्री शर्माले नेपालमा खडा भएका लगानी कोष, सञ्चय कोष,कर्मचारी सञ्चय कोष जस्ता संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप लगाए । उनले कोषहरुमा भएको अर्ब रकम बैंकमा जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरुमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताए ।
प्रकाशित: २४ भदौ २०७९ १६:१४ शुक्रबार