‘निजी क्षेत्रका पूर्वाधार परियोजनामा एडीबीले लगानी विस्तार गर्नुपर्‍यो’ -वरिष्ठ उपाध्यक्ष ढकाल

‘निजी क्षेत्रका पूर्वाधार परियोजनामा एडीबीले लगानी विस्तार गर्नुपर्‍यो’ -वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । 

शुक्रबार राजधानीमा एडीबीका उपाध्यक्ष अशोक लाभाससँगको भेटमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा अघि बढेका ठूला परियोजनामा लगानीका लागि आग्रह गरेका हुन् । 

“मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ ।”  उनले भने, “निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रसस्त सम्भावनाहरु छन् । श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एसियाली विकास बैंकले लगानी विस्तार गर्नुप-यो ।”  

वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको बैंकिङ्ग क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एडीबीको सहयोग आवश्यक रहेको बताए । 

उक्त अवसरमा एडीबीका उपाध्यक्ष लाभासले एसियाली विकास बैंक यसमा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताएका थिए । 

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एडीबीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Logo