जापानको १४ अर्ब सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै

जापानको १४ अर्ब सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै


नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । 

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका पाँचवटा नयाँ सबस्टेसन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ । 

जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने छन् । सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । 

आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे । त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

आयोजना मार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब दुई किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्विचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्विचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२र११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत वितरणका लागि ९र१० वटा फिडर निकालिने छन् । 

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नौ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगञ्ज र राजदरबारमा १३२र११ केभीका एक/एक सबस्टेसन निर्माण हुनेछन् । सबस्टेसनको क्षमता ६०र६० एमभिए रहने छ । 
यसैगरी, भक्तपुरको सिरुटारमा १३२र११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ ।सबस्टेसनको क्षमता ६० एमभिए रहने छ । तीनवटै सबस्टेसनबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९र१० वटा फिडर निकालिने छन् । 

पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२र११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ । 

Logo