सुनसान असन बजार [भिडियाेसहित]

सुनसान असन बजार [भिडियाेसहित]


चाडबाडको बेला अन्य समयभन्दा छुट्टै रमाइलो हुन्छ । त्यसमा पनि दसैं-तिहार भनेको नेपालीहरुका लागि दिल खोलेर रमाइलो गर्ने तथा राम्रो लाउने र मिठो खाने बेला हो । अन्य समयमा सामान्य गुजारा चलाउने मान्छेले समेत दसैंमा विभिन्न तडकभडकका साथ आफ्ना रहर पु-याउँछ । नुनदेखि सुनसम्मका व्यापारीहरुको व्यापारको आशा हो दसैँ । खसी–बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधनसम्मको विक्रीमा बहार आउने गर्छ हरेक दशैंमा । त्यसैले अरु सबै बिदाको रमाइलोमा मुग्ध भएपनि व्यापारीहरु चाहिँ दशैँमा नसुती व्यापार गर्दछन् । टिकाको दिन पनि मुस्किलले उनीहरु बिदा लिन्छन् । 

अघिल्ला वर्ष यति बेलासम्म दसैं व्यापारको चहलपहल सुरु भइसक्ने असन, इन्द्रचोक र न्यूरोडको होलसेल बजार यसपाली भने सुनसान छ । गतवर्षकोे तुलनामा लगभग ५० प्रतिशत भिडभाड तथा व्यापार कम भएको व्यापारीहरु बताउँछन् ।

सामान्यतया इन्द्रजात्रा सकिएलगत्तै बजारमा दसैँको चहलपहल सुरु हुन्छ । उपत्यकाबाहिर दशैं मनाउन जानेहरु पहिले देखिनै सपिङ गर्न तिर लाग्छन् । सोह्र श्राद्धसुरु भएपछि त झन् दसैँनजिकै आएजस्तो हुन्छ । तर यसपाली भने बजारमा पहिलेको जस्तो भिड छैन । चाडपर्वको रमझम नजिकिए पनि व्यापारीहरुको अनुहारमा भने चमक देखिदैन ।

काठमाडौँका असन, इन्द्रचोक र न्यूरोडका होलसेल पसलहरुमा दसैँको सामान किन्नेहरुको चहलपहल नबाक्लिएसम्म दसैँ आएको आभाष नै हुँदैन । दसैँ आउन १ महिना बाँकी हुँदै थेगि नसक्नु भीड लाग्ने असन, इन्द्रचोक र न्यूरोडका होलसेल तथा खुद्रा पसलहरु घटस्थापना सुरु हुन लाग्दा पनि यो वर्ष सुनसान छन् । हामीले दसैँको बेला खुट्टा राख्नठाउँ नहुने असनचोकमा यसपालि दसैं बजार कस्तो छ ? भनेर केही व्यापारीहरुसँग कुराकानी ग-यौँ । सानादेखि ठुला पसलहरु चिहायौँ । तर, सबै व्यापारीहरुले यसपालिको दसैं बजार गतवर्षहरु जस्तो नभएको बताए । 

असनका मन्दिर अथवा मन्दिर आसपासका मसला पसलहरुबाट आएको सुगन्ध जो कोहीले टाढैबाट आभास गर्न सक्छन् । गत वर्षहरुमा घुइचोँ लाग्ने मसला पसलहरु यसपालि भने सुनसान छन् । मसला, काजु, बदाम, तथा अन्य मिठाइ व्यापारी सुनिता तुलाधरका अनुसार यसपालिको व्यापार पहिलेको भन्दानिकै नै कम छ । खासगरी सोह्र श्राद्धमा आउँने ग्राहकहरु पनि यसपालि आएका छैनन् । उनी भन्छिन्,‘पहिले भन्दाअहिले व्यापार धेरै कम भएको छ । खै किन हो ? दसैं आउन अझैँ दुई हप्ता भएर हो की? तर श्राद्धगर्ने सामान पनि लगेको छैन यसपालि त । व्यापार हेर्दा त लाग्छ कसैले श्राद्ध नै गरेन कि क्या हो ?’ 

मन्द मुस्कानसहित उनले पोखेको असन्तुष्टिले यसपालि व्यापार नभएको सजिलै अड्कल गर्न सकिन्छ । त्यस्तै पुजा सामाग्री व्यापारी रचना महर्जन ग्राहक नआउनुको मुख्य कारण महंगी भएको बताउँछिन् । उनी भन्छिन्,‘व्यापार पहिलेको भन्दा कम नै छ । किनकीअहिले महंगी पनि बढिरहेको छ । पहिलेको भन्दा अहिले ग्राहकको संख्या पनि शून्य हुँदै गइरहेको छ । यो समयमा गाउँघरतिर त दसैंको सामान किन्ने समय भैसकेको हो । तर अहिले धेरै कम भएको छ । ’
 
काठमाडौंका यी बजारहरुबाट दसैँमा सामान उपत्यकाबाहिर पनिजाने हुँदा यसपालि उपत्यका बाहिरका व्यापारी समेत नआएको उनीहरु बताउँछन् ।

त्यस्तै अर्का भाँडा व्यापारीको समस्यापनि उस्तै । उनकाअनुसार अरुबेला सोह्र श्राद्ध सुरु भएदेखि नै लाग्ने भिड यसपालिको दसैंमा भने शून्य छ । 

असन बजारमा जो कोही व्यापारीहरु अहिले व्यापार नभएको बताउँछन् । भाँडा व्यापारी होस् या लुगा व्यापारी यसपाली कसैको अनुहारमा रंग छैन । असनमा खुकुरी तथा अन्य धातुजन्य पुर्ख्याैली व्यापार सम्हालिरहेका सुमनमान प्रधान पनि विगतभन्दा अहिले व्यापार खस्किएको बताउँछन् । उनी भन्छन्,‘पहिलेको भन्दा अहिले व्यापार खस्किएको छ । पहिले धेरै टुरिष्ट हुन्थे भने अहिले टुरिष्ट नभएको कारण पनि व्यापार घटेको हो । कहिलेकाँही त बोहोनी गर्न पनि गाह्रो हुन्छ । अरु बेला पनि व्यापार थोरै भएपनि झन् दसैंको समयमा कम भएको छ । पहिलेको भन्दा काटमार पनिकम भएर होला अहिले खुकुरी धेरै कम विक्री हुन थालेको छ । 

विगत ४० वषदेखि कुर्ता सुरुवाल तथा सारी बेच्दै आएका ईश्वर रौनहरको समस्या पनि उस्तै । उनको व्यापार पहिलेको भन्दा धेरै फरक भएको छ । उनी भन्छन्,अहिलेको दसैको व्यापार पहिलेको भन्दा धेरै कम भएको छ । अहिले अनलाइनको जमाना छ । सबैले अनलाइनबाट सपिङ गर्ने भएकाले पनि व्यापारमा समस्या आएको हो । पोहोर परारको दसैंमा बिहान १० बजेबाट नै खुट्टा राख्ने ठाउँ हुँदैनथ्योे । तर अहिले दिनभरी खाली बस्नु परेको छ ।’
 
त्यस्तै अर्का व्यापारीको ग्राहक नआएर आफै बाहिर आएर कार्ड देखाउँदै भित्र लानुपर्ने सास्ती । उनले व्यापार गर्न थालेको १७ वर्ष भैसक्यो तर पहिला पहिला उनले कहिल्यै यस्तो समस्या खेपेका थिएनन् । उनको पसलमा आफै ग्राहकहरु गएर पसलमा सामान हेर्थे तर यसपालि उनको पनि व्यापार खस्किएको छ । साँच्चै भन्ने हो भने सुनसान नै बनेको छ । 
 
माथीका व्यापारीहरु त प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्ता सयौं व्यापारिहरुको व्यापार अहिले पहिलेको जस्तो छैन । जुत्ता चप्पल होस् या लुगा कपडा,कुनै पनि सामाग्री विक्री हुन सकेको छैन । तर पनि व्यापारीहरु घटस्थापनाको दिनसम्म ग्राहक आउनेमा आशावादी छन् । 

विगतका वर्षको कोरोनाकालमा समेत राम्रो व्यापार भएको बताउने व्यापारीहरु यस वर्ष कोरोनाको प्रभावकम हुँदा पनि व्यापार शून्य भएको कारणबारे अनविज्ञ छन् । विकास निर्माणका काम नहुँदा काम गरेर खाने वर्ग बेरोजगार भएकोले दशैँको मुखमा व्यवसायमा नकारात्मक असर देखिएको असन क्षेत्रका व्यापारिहरुको बुझाई छ । 

भिडियाे-

 

Logo