नेपालमा चलेका विद्युतीय कारहरू, कुनको मूल्य कति ?

नेपालमा चलेका विद्युतीय कारहरू, कुनको मूल्य कति ?


नेपालमा विधुतीय सवारीसाधनको प्रयोग अब नौलो विषय रहेन किनभने हाम्रा सडकमा पनि विधुतीय सवारीसाधन चल्न थालिसकेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिसँगै विद्युतीय सवारी साधनको माग पनि बढ्दो छ । वातावरणको क्षेत्रमा आएको परिर्वतन, ग्लोवल वार्मिङ जस्ता संकटसँग लड्न यस्ता इलेक्ट्रिक कार निकै फाइदाजनक हुनेछन् किनकी यी सवारी साधनहरु जेरो इमीसनका हुन्छन् । विद्युतीय सवारीसाधनमा उपलब्ध हुने ब्याट्री क्षमता, वातावरणमैत्री फिचर तथा अन्य सुविधाका कारण विद्युतीय सवारीसाधनको माग उल्लेख्य बढेको हो ।

अहिले नेपाली बजारमा २० देखि ७० लाख रुपैयाँँसम्मका इलेक्ट्रिक सवारीसाधनहरु बिक्री वितरण भइरहेका छन् । पछिल्लो समय नेपालमा किया, टाटा, बीवाईडी लगायत १५ बढी ब्राण्डका विद्युतीय कार उपलब्ध छन् । तीमध्ये सर्वाधिक प्रयोग हुने १४ कार यस्ता छन्ः

१, नेटा भी

नेटा भीको दुवै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । यसको स्टायन्डर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको वेभ साइटमा उल्लेख छ । यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको मुल्य ३८ लाख रहेको छ ।

२, हुन्डाई कोना

इलेक्ट्रिक कारको बजारमा हुन्डाई कोना नेपाली बजारमा आएको मध्ये सबैभन्दा बढी रेन्ज दिने मध्यको एक फिचरप्याक क्रसओभर एसयूभी हो । एक पटकको फुलचार्जमा ३०० किलोमिटरभन्दा बढी गुडाउन सकिने यो कार नेपाली बजारमा आएको एक हप्तामा नै ४० युनिट बिक्री भएको कम्पनीले जनाएको थियो । इलेक्ट्रीक कार पावरफुल हुँदैनन् र डिजाइन पनि राम्रो देखिदैन भन्ने भ्रमलाई तोड्न कोना सफल भएको छ । यसले नेपाल सरकारले इलेक्ट्रिक सवारीसाधन आयातमा दिएको जोडलाई बल पुर्याउने देखिएको छ । हुन्डाई कोनाले ३०० किलोमिटर भन्दा बढी माइलेज प्रदान गर्नेछ । नेपाली बजारमा हुन्डाई कोना इभीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ छ ।

३, हुन्डाइ आयान

यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । एक पटकको फुल चार्जमा २२० देखि २५० किलोमिटर माइलेज दिनेछ । यो कारको अर्को विशेषता भनेको करिब १० प्रतिशत चार्ज कार गुडिरहेको बेलामा जेनेरेट गर्नेछ ।लिथिएम आयन पोलिमोर ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जिङ गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिनेछ । हुन्डाइ आयोनिक सय वाटको मुल्य ७६ लाख ९६ हजार तोकिएको छ। नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल रहेको छ ।

४, इटुओ

महिन्द्रा कम्पनीले बिक्री गर्दै आएको इटुओको प्रवेशसँगै नेपाली बजारमा इभीको बहसमा वृद्धि भएको छ । सन् २०१२ मा अग्नी इनर्जीले नेपाली बजारमा ल्याएको इटुओले इलेक्ट्रिक सवारीसाधनप्रति निकै रुची सृजना गर्न सफल भएको मानिन्छ । तर, गाडीको कम रेन्जका कारण उपत्यका बाहिर लिएर जानु पर्ने मानिसको रोजाईमा यो कार पर्न सकेन । इटुओ प्लसले एक पटकको फुल चार्जमा १२० किलोमिटर माईलेज दिन्छ भने ईभेरिटोले ११० किलोमिटर माइलेज प्रदान गर्नेछ । महिन्द्रा इटुओको मूल्य २६ लाख मात्रै रहेको छ ।

५, निसान लिफ

पायोनियर मोटो कर्प प्रालिले भित्र्याएको यसको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। ‘निसान इन्टेलिजेन्ट मोबिलिटी’ अन्तर्गत ग्राहकले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिनसक्छन । यसको इन्टेलिजेन्ट पावर अन्तर्गत ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। र, एकपल्ट चार्ज गर्दा ३११ किलोमिटरसम्म चलाउन सकिन्छ। यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ। निसान लिफ ईभीबाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममासमेत पठाउन सकिन्छ।

६, बिवाइडी

चिनियाँ कम्पनी बिवाइडी विद्युतीय अटो विश्व बजारमा अग्रस्थानमा छ । बजारमा यो कम्पनीको सेकेन्ड जेनेरेसन इ–६ उपलब्ध छ । जसमा ७१.७ किलोवाट क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । ठूलो आकार र धेरै रेन्ज दिने हुँदा इ–६ सरकारी कार्यालयदेखि निजी सवारीका रूपमा प्रयोगमा आएको छ । नेपालमा सिमेक्स प्रालिले बिक्री गरिरहेको छ । यसको मूल्य ५८ लाख रुपैयाँ रहेको छ ।

७, टाटा नेक्सन इभी

टाटा मोटर्सले निर्माण गरेको नेक्सन इभीको नेपाली बजारमा अन्य कम्पनीका इभी गाडीहरुको तुलनामा धेरै मन पराउने गाडीको रुपमा स्थापित भएको छ । नेपाली बजारमा सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभीको बिक्री वितरण गर्दै आएको छ । नेक्सन इभीमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । नेक्सनले ३१२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । नेपाली बजारमा उपलब्ध नेक्सन इभीको बेस भेरियन्ट एक्सएमको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । भने मिडियम भेरियन्ट एक्सजेड प्लसको ३८ लाख ९९ हजार र टप भेरियन्ट एक्सजेड प्लस लक्जरीको ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

८, टिगोर इभी

टाटा मोटर्सले सस्तो मूल्यमै नेक्सन इभीपछि टिगोर समेत नेपाली बजारमा ल्याएको हो । कारमा ७ इन्चको डिस्प्ले, हर्मन स्टेरियो सिस्टम, एलइडी लाइट, रियर पार्किङ क्यामेरा र अटो फोल्डेबल ओआरभिएमएस लगायत फिचर्स दिइएको छ । कारमा जेड कनेक्ट एप उपलब्ध गराइएको छ । टिगोरले ३०६ किलोमिटर रेन्ज दिने दाबी गरेको छ । टिगोर एसईको मुल्य २९ लाख ९९ हजार तोकिएको छ । जुन नेक्सनको तुलनामा ७ लाख रुपैयाँले कम हो । टिगोरको मिडियम भेरियन्टको ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

९, एसयूभी एमजी जेडएस

१० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिने एसयूभी एमजी जेडएसले यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडीको मूल्य ४९ लाख ९९ हजार रहेको छ। यो पारामाउन्ट मोटर्स प्रा।लि।ले सार्वजनिक गरेको हो ।

१०, किया निरो

किया निरोले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ । निरो ईभीमा १५० वाटको इलेक्ट्रिक मोटर छ । अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको उक्त कारलाई डिसी फास्टचार्जर बाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ । एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिन्छ । कम्पनीका अनुसार निरो ईभीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

११, एसयूभी एमजीमा किया शोल

नेपाली बजारमा एसयूभी सेग्मेन्टमा किया शोल सन् २०१६ वाट बिक्री वितरण सुरु भएको हो । ५६ लाख रुपैयाँ पर्ने यो कारको उपस्थिति पनि उल्लेख नै छ । नेपालको लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ल्याएको हो ।

१२, टेस्ला

नेपालमा टेस्ला सवारी ३ मोडलमा उपलब्ध छ । टेस्लाको मोडल–३, मोडल एक्स र मोडल वाई नेपालमा उपलब्ध छन्। टेस्लाको मूल्य विभिन्न मोडेल अनुसार १ करोड १५ लाख रुपैयाँदेखि २ करोड ८५ लाख रुपैयाँसम्म रहेको छ । नेपाली बजारमा टेस्लाको आधिकारिक विक्रेता अरेटी इन्टरनेशनल रहेको छ ।

१३, किया

किया इभी- ६ सुपरकार फास्ट जीटी भेरियन्टबाट प्रभावित रहेको छ । यसमा दिइएको स्कप्टेड हुड र ड्यूल रियर स्पोइलरले यसलाई स्पोर्टी देखाएको छ । किया इभी ६ मा २९०० एमएम र ३००० एमएमको ह्वीलवेस दिइएको छ । कियाको टप अफ दि लाइन किया इभी ६ जीटी मा ७७.४ किलोवाट आवरको व्याट्री पावर तथा अलह्वील ड्राइभ अफ्सन रहेको छ । यसले सुपरकार जस्तै ५७६ एचपी पावर तथा ७३० एनएम टर्क उत्सर्जन गर्छ । यो कार मात्र ३.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा पुग्छ भने यसको म्याक्सीमम स्पीड २६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

१४, ग्रेटवाल

नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जीडब्लूएम हो । यसमा द्रुत सेवाप्रवाह हुने क्षमता रहेको छ । १२३ किलोवाट मोटर रहेको यसमा १४५ एमएमको ह्वीलवेस रहेको छ । यस्ले ५५० किलोमीटर माइलेज दिन्छ । नेपाली बजारमा यसको मूल्य ५७ लाख ५० हजार छ ।

Skip This
Logo