नेपालमा पहिलोपटक ‘नाडा ईभी एक्स्पो’ – के भन्छन् पदाधिकारीहरु ?

नेपालमा पहिलोपटक ‘नाडा ईभी एक्स्पो’ – के भन्छन् पदाधिकारीहरु ?


नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको मागसँगै महत्व बढ्दो क्रममा छ । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले पनि यसको महत्व अझ बढेको पाइन्छ । जसका कारण विद्युतीय सवारी साधनको माग नेपालमा पनि दिनप्रतिदिन बढ्दो छ । नेपालको इतिहासमै पहिलो पटक अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को आयोजनामा भएको ‘नाडा ईभी एक्स्पो २०२२’ले उक्त मागलाई सम्बोधन गरेको छ  । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको इभी एक्स्पोमा ५१ वटा स्टल रहेका छन्, जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको छ ।

नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको थियो । प्रत्येक वर्ष दसैंको मुखमा नाडा अटो शो हुन्थ्यो । तर, दुई वर्षदेखि कोभिड १९का कारण अटो शो हुन सकेको थिएन । यो वर्ष भदौ पहिलो हप्ताबाट अटो शो गर्ने तयारी थियो । तर सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएपछि नाडाले अटो एक्स्पोको साटो ईभी एक्स्पोको आयोजना गरेको हो । 

एस्क्पोमा विद्युतीय सवारी साधन हेर्न आउने सर्वसाधरणको राम्रै भिड लागेको छ । यसैक्रममा प्रस्तुत छ, केन्द्रबिन्दुले नाडाको पदाधिकारीहरुसँग गरेको कुराकानीको सम्पादित अंशः 

ध्रुव थापा, अध्यक्ष, नाडा 

नाडा एक्स्पो के हो  ?
-चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विशुद्ध विद्युतीय सवारीसाधान मात्रै रहनेछन । संसारभर विद्युतीय गाडीको माग बढिरहेका बेलामा नेपालमा पनि अझ यसलाई प्रोमोट गराैं भन्ने हो । 

स्टलमा कस्ता गाडीहरु राखिएका छन् ?
-स्टलमा सबै प्रकारका विद्युतीय गाडीहरु रहेका छन् । जसमा दुईपाङ्ग्रे, तीनपाङ्गे्र र चार पाङ्गे्र लगायत गाडीहरु उपलब्ध छन् । मेलामा यसलाई आवश्यक पर्ने पार्ट्सलगायत बैंक अफरहरु पनि रहेका छन् । यहाँ कमदेखि लक्जरी मूल्यसम्मका गाडीहरु उपलब्ध छन् । 

विद्युतीय सवारी किन्नेहरुका लागि स्टलमा इएमआई वा पेमेन्टको के कस्तो व्यवस्था रहेको छ ?
-यहाँ उपलब्ध केही बैंकहरुले ८० प्रतिशतसम्म फाइनान्सको सुविधा राखिएको छ । तत्कालै कम व्याजदरमा आवश्यक रकम ऋण लिन सक्ने सुविधा पनि रहेको छ । 

मेलामा मुख्य आर्कषकका रुपमा के–के राखिएको छ ?
-मेलामा सबै प्रकारका विद्युतीय सवारी साधनहरु रहेका छन् । चार पाङ्गे्रमा टेस्ला, नेटा, महिन्द्रालगायत छन् । दुइपाङ्गे्रमा नेपालमा भएका ८० प्रतिशत सवारीसाधान मेलामा राखिएको छ । 

विश्व वजारमा विद्युतीय सवारीको माग बढिरहँदा नेपालमा पनि यसको माग निकै बढ्दो देखिन्छ । तपाईको नजरमा ४ दिने यो एक्सपोले भोलिका दिनमा कस्तो प्रभाव पार्ला ?
-गतवर्ष नेपालमा आयात भएका सवारी साधानमा १० प्रतिशत विद्युतीय  सवारी साधनहरु रहेका छन । यसरी हेर्दा यो वर्ष यो संख्या बढेर २० प्रतिशत पुग्न पनि सक्छ । त्यसैले अबको पाँच वर्षमा विद्युतीय सवारी साधान आयात ५० प्रतिशत भन्दा बढी हुन्छ । 

नेपालमा विद्युतीय सवारीहरुको मुल्य कस्तो रहेको छ ?
-अन्य मुलुकको तुलनामा नेपालमा विद्युतीय सवारीहरुको मुल्य सहुलियत रहेको छ । अन्य सवारी साधनहरुमा २५० देखि ३०० प्रतिशतसम्म कर तोकिएको छ तर विद्युतीय सवारीहरुमा बढीमा ७० देखि ८० प्रतिशत मात्र कर लगाइएको छ । अझ विद्युतीय बसहरुमा त झन १ प्रतिशत मात्र कर तोकेको छ । यस हिसाबले हेर्दा सरकारले विद्युतीय गाडीहरुलाई बढी प्रोमोट गरेको छ । अन्य देशको तुलनामा नेपाल सरकारले भन्सारमा कर छुट दिएको छ । सहुलियत पनि दिएको छ । सरकारको यो कामलाई हामी सराहनिय पनि गरेका छौं । हामी सरकारसँग यो वर्ष कर घटाइयोस् र अर्को वर्ष बढाइयोस भन्ने चाहन्नौं । 

अनुप बराल, सभापती, इभि अटो सो

नाडा एक्स्पो के हो  ?
-नेपालको इतिहासमा नाडाले पहिलो पटक इभि सो गर्दै छ । इभिमार्फत हामी आम मानिसहरुमा विद्युतीय सवारी साधन पनि बलियो र भरपर्दो हो भनि बताउन चाहन्छौं । यो सोबाट हामी मानिसहरुमा इभि प्रति मानिसहरुको नकारात्मक सोचलाई परिवर्तन गर्न चाहन्छौं । यहाँ आउने मानिसहरुले इभि गाडीका बारेमा धेरै जानकारी प्राप्त गर्न सक्छन्, इभि गाडीका मेकिङका बारेमा जान्न सक्छन् । 

कृष्ण प्रसाद दुलाल, निवर्तमान अध्यक्ष, नाडा 

नाडा एक्स्पो के हो  ?
-यो ४ दिनसम्म चल्ने मेलामा आगन्तुकहरुलाई म स्वागत गर्न चाहन्छु । अहिलेसम्मको अवस्था हेर्दा मेला राम्रोसँगले चलिरहेको छ । मेरो विश्वास छ यो मेलाका कारण नेपालको उर्जा राम्रोसँगले प्रयोग हुने छ । यो मेलाका कारण इभि क्षेत्रमा राम्रो प्रभाव पर्ने सोचेका छौं । मेलामा २ ह्लिर ४ ह्लिर सवारी साधनहरु छन् । पेट्रोल गाडी प्रतिस्थापन गर्नका लागि विद्युतीय सवारी साधनलाई पो्रमोट गर्नुपर्छ भनी हामीले यो मेला आयोजना गरेका हौं । हाम्रो विचारमा अबको भविष्य विद्युतीय गाडीको हो । आज सुरु भएको मेलाकै कारण उत्पादन पनि बढ्ने छ । 

प्रकाश कपुरी, सभापत्ति, रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम कति दिनसम्म चल्ने छ ? 
-यो रक्तदान कार्यक्रम मेला जस्तै ४ दिनसम्म चल्नेछ । अहिले डेंगु महामारीका कारण रगतको धेरै माग भइरहेको छ । एउटा रगतको पोकाले २ जनाको ज्यान बचाँउछ भनिन्छ । सोही कारण हामीले धेरै भन्दा धेरै रगत संकलन गर्ने लक्ष्य लिएका छौं । यो रक्तदान कार्यक्रम बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । इच्छुक मानिसहरुले खेर जाने रगतलाई यहाँ आएर दान गर्न म आग्रह गर्छु । यो इभिमा सहभागी भई मिल्छ भने आफ्नो खेर जाने रगत दान गर्न म सम्पुर्ण मेलामा उपस्थित हुने जनमानसलाई आमन्त्रण गर्न चाहन्छु । शुभकार्यमा हामी सबैको साथ र सहयोग रहोस् भन्ने म चाहन्छु । 
 

Logo