मूख्य चाडपर्वका बेला कतिपय दैनिक उपभोग्य वस्तुको मुल्य अचाक्ली बढ्ने गरेको छ ।
चाडपर्व मनाउँदै रमाइलो गर्ने समयमा अचाक्ली बढेको मुल्यले उपभोक्ताहरु हरेक वर्ष समस्यामा पर्ने गरेका छन् । नजिकिएको दसैंका लागि खुलेका बजारको अवस्था पनि अहिले उस्तैछ । छोइनसक्नुको भाउ छ । नुनदेखि सुनसम्मको भाउ बढेको छ । चाडपर्वका लागि चाहिने चामल, दाल, चिनी, तरकारीसहितको मुल्यमा ४० प्रतिशतसम्मले बृद्धि भएको छ । तर खाद्य संस्थान मूल्य वृद्धिलाई स्वभाबिक रुपमा लिन्छ । व्यापारीहरुले गर्ने कृतिम मुल्यबृद्धिको असर उपभोक्ताको भान्सासम्म पुगेको संस्थानको दाबी छ ।
उपभोग्यवस्तुको मुल्यबृद्धिले बजारमा पनि प्रभाव पारिरहेको छ । व्यापार गत सालहरुमा जस्तो हुन सकिरहेको छैन । बढेको मुल्य तिरेर सामान खरिद गर्ने आँट उपभोक्तामा छैन । गत वर्ष घटस्थापना अघि नैबाट खचाखच हुने बजारमा यो वर्ष घटस्थापनापछि पनि चहलपहल देखिएको छैन । व्यापारी र उत्पादकले पनि केही उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेका छन् ।
त्यसको कारण चर्को कर र कच्चा पदार्थको मूल्यवृद्धि भएको उनीहरुको तर्क छ । दाल चिनीमा मात्र नभएर तरकारीहरुमा पनि यसपाली रौनक देखिएको छैन । दसैंमा सबैभन्दा बढी विक्री हुँने मसला हो । तर त्यही मसला अहिले छोइनसक्नुको छ । उज्यालो भएदेखि राति अबेरसम्म एक छिन नबिसाई मसलाको व्यापार गर्दै आएका अजय श्रेष्ठ यो पटकको दसैंको व्यापारलाई लिएर चकित छन् ।
कस्ता वस्तुमा मूल्यवृद्धि ?
विभिन्न सरकारी निकाय तथा व्यापारी संघसंस्थाले सार्वजनिक गरेका विवरण हेर्ने हो भने विशेषगरी तरकारी र खाद्यान्नको मूल्यवृद्धि उच्च बनेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण हेर्दा विगत केही महिनामा केही तरकारी र फलफुलको मुल्य सतप्रतिशतसम्म बढेको छ । मुल्यबृद्धि भएको कुराको पुष्टि नेपाल खुद्रा व्यापार संघको मूल्य सूची हेर्यो भने पनि हुन्छ । सूचीले चामल, दालदेखि खाने तेलसम्मको भाउ बढेको देखाउछ ।
सञ्चालनमा आएका सहुलियत पसलमा छैन पर्याप्त सामग्री
दसैंलाई लक्षित गरेर सरकारले असोज १ गतेदेखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । यी पसलबाट चिनी, घिउ लगायत खाद्यान्न वस्तुमा छुट दिने गरिन्छ तर, सञ्चालनमा आएका सहुलियत पसलमा चिनी र घिउ पर्याप्त छैन । घिउ र चिनी नै नभएपछि कसरी मनाउँने दसैं भन्ने सबैको मनमा हुन सक्छ ।
चाडपर्वमा चिनी सहुलियत दरमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् भने घिउ दुग्ध विकास संस्थान (डीडीसी) ले छुटका साथ बिक्री गर्छ । तर, यी निकायहरुसँग चिनी र घिउ पर्याप्त छैन । दूध अभावका कारण डीडीसीले घिउ नभएको बताएको छ भने चिनीका लागि सहुलियत चिनी आयात गर्न अर्थले सहमति नै नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ । तर खाद्यान्न व्यवस्था व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापा सुपथ मूल्य पसलमा सबै सामान पाइने दाबी गर्छिन् ।
दसैंलाई चाहिने मासुमा पनि उच्च मुल्यबृद्धि छ । खाद्य कम्पनीले घटस्थापनादेखि खसीबोका भित्र्याउन थालेको छ । तर गत वर्षको तुलनामा यो वर्ष खसिबोकाको मुल्य उच्च छ । भनिन्छ दसैं हरेक गरिबका लागि दशा हो । रिनपान गरेर दसैं मनाउनेहरुका लागि वास्तबमै यो दशा नै बन्न पुग्छ ।
प्रकाशित: १२ असोज २०७९ १०:५३ बुधबार