दसैंका लागि खसीबोका बिक्री सुरु, कस्तो छ अहिलेको व्यापार ? [भिडियोसहित]

दसैंका लागि खसीबोका बिक्री सुरु, कस्तो छ अहिलेको व्यापार ? [भिडियोसहित]


हिन्दु धर्मावलम्बीको महान पर्व बडादसैँ सुरु भएसँगै देशैभर खुसीयाली छाएको छ । टाढाटाढा रहेका आफन्तहरु घर फर्किन थालेका छन् । गाउँ भरिन थालेको छ । बजारमा खरिदबिक्रीका लागि भीडभाड सुरु भएको छ । कपडा, खाद्यान्नदेखि लिएर साजसज्जाका सामग्री खरिदका लागि चहलपहल उच्च छ । यहीँबीचमा विभिन्न चोक/बजारमा खसी, बोका र च्यांग्राहरू विक्री हुन थालेका छन् । विभिन्न जिल्लाबाट खसी, बोका र भेडाच्याङ्ग्रा काठमाडौं ल्याउने गर्छन् । 

यसपाली दसैंमा मासुको मूल्यबृद्धि नभएको व्यापारीहरु बताउँछन् । बजारको माग हेरेर खसीको मासुको मुल्य निर्धारण हुने गरेको छ । भारतबाट ल्याइएका खसीको मुल्य प्रतिकिलो ६ सय देखि ६ सय ८० रुपैयाँसम्म छ भने नेपालकै विभिन्न जिल्लाबाट ल्याइएका खसीको मुल्य प्रतिकिलो ७ सय देखि ८ सय रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो । मुल्यमा खासै परिवर्तन नभए पनि कलंकीका व्यापारी गोपाल खत्री यसपटक विगतमा झै व्यापार नै नभएको बताउँछन् । 

थानकोटबाट खसीबजारमा खसी किन्न आएका राजाराम वानियाँ महँगी बढेको भएपनि यसपाली खसीको मुल्य नबढेको बताउँछन् । यो दसैंमा च्याङग्राको माग धान्न गाह्राे छ । तिब्बतबाट च्याङग्रा नेपाल नभित्रिएपछि नेपालभित्रै उत्पादन भएका च्याङग्राले दसैंको माग धान्नलाई मुस्किल परेको हो । 

मुस्ताङबाट हिँडाएर तीन दिन पछि म्याग्दीको बेनी र त्यहाँबाट एक दिनमा काठमाडौं आईपुग्ने च्याङग्राको मुल्य प्रतिगोटा ३५ हजार देखि ५० हजारसम्म पुग्छ । काठमाडौंको बजारमा यसपाली २७ देखि ४० केजीसम्मका च्याङग्रा छन् । काठमाडौंमा अघिल्लो वर्षको दसैंमा चार देखि पाँच हजार वटासम्म च्याङग्रा बिक्रि भएपनि यो वर्ष २ हजारको हाराहारीमा मात्रै बजारमा छन् । च्याङ्ग्राको मासुको मुल्य गत वर्षकै अर्थात् १३ सय प्रति केजी कायम छ । तर माग बढी भएपछि मुल्य पनि बढेको छ । 

बुवाले रोजेको बाटो रोजेका टंकप्रसाद श्रेष्ठले ६ दशकदेखि पुर्ख्यौली व्यवसाय धान्दैं आएका छन् । कुनै जमानामा एक सय रुपैयाँमा भेडा बेचेका उनी अहिले प्रतिगोटा ४५ हजार रुपैयाँसम्म पर्न थालेपछि आश्चर्यमा छन् । तर पनि बजारको माग भन्दै चित्त बुझाउँछन् । भेडा खोज्नेहरुले भने खाली हात फर्कनु परेको छैन । 

त्यस्तै, दसैंलाई केन्द्रित गरेर भेडा किन्न आएका राजेन्द्र खड्गी भेडाको मुल्य पनि पोहोर जस्तै भएको बताउँछन् । प्रतिकिलो भेडाको मासु ७ सय रुपैयाँ रहेको छ । महँगी बढिरहेको बेला भेडाको मुल्य पनि बढे मासु किन्न नसकिने खड्गीको भनाइ छ ।

Logo