काठमाडौं,
गत आर्थिकवर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर करिब एक प्रतिशतले घटेको छ । बैंकहरूको आधार ब्याजदर गणना विधिमा भएको परिवर्तन तथा निक्षेपको ब्याजदरमा बैंकहरूको भद्र सहमतिका कारण आधार ब्याजदर घटेको हो । आधार ब्याजदर घट्दा कर्जाको ब्याजदरमा समेत कमी आउने भएकाले यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ ।
बैंकहरूको आधार ब्याजदर बढ्दा बजारमा महँगी बढ्न जान्छ । लगानीकर्ताले बैंकबाट उच्च ब्याजदरमा कर्जा लिनुपर्दा त्यसबाट उपभोक्तामा समेत असर पर्छ । त्यसका साथै कर्जा प्रवाहको अनुपातमा पनि कमी आउन सक्छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा भएको प्रतिफल जोड्न नपाउने व्यवस्था गरेको छ । यसअघि बैंकहरूले सम्पत्तिमा भएको प्रतिफलवापत ०.७५ प्रतिशत आधार ब्याजदर गणना गर्दा समावेश गर्न पाउने व्यवस्था थियो ।
त्यसका साथै बैंकहरूले निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गरेर ९.७५ प्रतिशतसम्म कायम गरेपछि त्यसले आधार ब्याजदर घट्न मद्दत गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन् ।
अघिल्लो आर्थिक वर्ष बैंकहरूको औसत आधार ब्याजदर १०.४२ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो दर घटेर ९.५५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि कर्जा लगानीयोग्य रकम (तरलता) को अभाव भएपछि बैंकहरूको कस्ट अफ डिपोजिटसमेत बढेको थियो । बैंकहरूले गत आर्थिक वर्षको सुरुवातमै आक्रामक रूपमा कर्जा प्रवाह गरेपछि कर्जा लगानीयोग्य पुँजी अभावका कारण कर्जा प्रवाह नै नियन्त्रण गर्नुपर्ने अवस्था आएको थियो ।
कारोबारबाट
प्रकाशित: ९ भदौ २०७६ ०७:५८ सोमबार