सङ्कटमा मादल व्यवसाय

सङ्कटमा मादल व्यवसाय


बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । 

उजले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके ।

उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । पहिले बाह्रै महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उनको भनाइ छ । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउँछन्।

दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए। गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको सुनाए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको उल्लेख गरे। अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए । 

उनले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताए । उनि भन्छन्, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”

Skip This
Logo