लमजुङबाट ७४ मेगावाट विद्युत रास्ट्रिय ग्रिडमा जोडिने

लमजुङबाट ७४ मेगावाट विद्युत रास्ट्रिय ग्रिडमा जोडिने


लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

दोर्दी करिडोरमा १३२ केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उदीपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन निर्माण भएसँगै ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने बाटो खुलेको हो । दोर्दी करिडोरमा निर्माण सम्पन्न भई विद्युत् परीक्षण उत्पादन सुरु गरेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी-ए जलविद्युत् आयोजना, १२ दशमलव ५ मेगावाटको दोर्दी खोला-१ जलविद्युत् आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजना गरी हाललाई ७४ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ । 

दोर्दी करिडोरमा अहिले ५४ मेगावाटको सुपर दोर्दी-ख निर्माणाधीन अवस्थामा छ । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । 

दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने योजना छ । तर, उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्विच यार्डमा जोड्ने व्यवस्था गरिएको छ ।

 

Logo