चालु आर्थिक वर्षको तीनमहिने अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा चीनिया स्मार्ट फोन

चालु आर्थिक वर्षको तीनमहिने अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा चीनिया स्मार्ट फोन


सरकारले महँगा मोबाइल आयातमा प्रतिबन्ध गरेको फाइदा चिनियाँ मोबाइल निर्मातालाई भएको छ । चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) मा नेपालमा आयात भएका टप टेन वस्तुमा (मूल्यका आधारमा) चिनियाँ स्मार्टफोन परेका हुन् । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा स्मार्टफोन परेको छ । यी सबै स्मार्टफोन चीनबाट आयात भएका हुन् । विभागले असोज मसान्तसम्ममा ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरका ४ लाख ६८ हजार ४६१ वटा स्मार्टफोन आयात भएका छन् । 

यी सबै स्मार्टफोन चीनबाट आयात भएको विभागले जानकारी दिएको छ । विभागले दिएको तथ्याङ्कको विश्लेषण गर्दा नेपालमा आयात भएका चिनियाँ स्मार्टफोनको औसत मूल्य प्रतिफोन १३ हजार २ सय रुपैयाँको हाराहारीमा पर्ने देखिएको छ । मूल्यका आधारमा हेर्दा नेपालमा सुनभन्दा बढी मूल्यका स्मार्टफोन आयात हुन थालेको देखिन्छ । चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सुनभन्दा झन्डै २ अर्ब रुपैयाँ बढीको चिनियाँ स्मार्टफोन आयात भएको देखिएको हो ।

विगतका वर्षहरूमा जस्तै चालु आर्थिक वर्षको तीन महिनामा पनि नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल नै परेको  छ । गत तीन महिनामा २९ अर्ब २९ करोड रुपैयाँ बराबरको डिजेल नेपालमा आयात भएको छ । यस्तै, दोस्रो नम्बरमा पेट्रोल परेको छ । चालु आर्थिक वर्षको तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

नेपालमा बढी आयात हुने वस्तुको तेस्रो नम्बरमा खाना पकाउने ग्यास परेको छ । गत तीन महिनाको अवधिमा १४ अर्ब ९४ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । डिजेल, पेट्रोल र ग्यास नेपालमा भारतबाट मात्रै हुने हुने वस्तुहरू हुन् । यस्तै, सो अवधिमा ९ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ बराबरको कच्चा पाम आयल आयात भएको छ । कच्चा पाम आयल इन्डोनेसियाबाट आयात भएको हो ।

विभागका अनुसार कच्चा सोयाविन तेल तथा फलामजन्य वस्तुहरू पनि नेपालमा आयात हुने बढी मूल्य बराबरका टपेन वस्तुभित्र परेका छन् । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सरकारले बेल्जियमबाट ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ बराबरको खोप आयात गरेको छ ।

Logo