धान काट्ने किसानसँग खेतमै पुगेर भोट माग्दै सूर्य थापा

धान काट्ने किसानसँग खेतमै पुगेर भोट माग्दै सूर्य थापा


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् । मतदाताको घरदैलोदेखि बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म उनीहरु  पुग्ने गरेका छन् । 

प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले धान काटिरहेका किसानहरुसँग भोट माग्दै आफू किसानकै छोरो भएकाले जिताउन आग्रह गरे । बाली भित्र्याउने समय भएकाले अधिकांश मतदाता (किसान) हरू गाउँमा भेटिँदैनन् । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा मल्लरानी गाउँपालिका–३ सालठाँटीमा पुग्दा किसानहरु खेतमै व्यस्त थिए । धान काट्न व्यस्त किसानहरुसँग खेतमै पुगेर थापाले मत मागे । थापाका अनुसार अहिले किसानहरु गाउँमा खेतीपातीमा व्यस्त छन् । 

प्युठानका नौवटा स्थानीय तहका ६४ वटा वडाहरुका गाउँबस्तीमा पुगेर मत माग्ने कार्यक्रमको व्यस्तताले मतदाताहरु जहाँ छन् त्यही पुगेर आफ्ना एजेण्डासहित मत माग्ने गरिएको थापाले प्रतिक्रिया दिए । हालसम्म २० वटा वडाहरुमा पुगेर मतदाताहरुसँग चुनावी भेटघाट गरिएको उनले बताएका छन्। 

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेबाट सूर्य थापा र गठबन्धनबाट राजमोकी दुर्गा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् भने पौडेल राजमोकी उपाध्यक्ष हुन् । 

Logo