तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रियो, कुन देशबाट कति ?

तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रियो, कुन देशबाट कति ?


चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन् । 

साउनदेखी असोज मसान्तसम्म यी इलेक्ट्रिक कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तीन महिनामा नेपाल भित्रिएको यो संख्या हालसम्मकै उच्च हो । यसरी आयत भएको यी कारबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा हाल भारत, चीन, कोरिया, जापान र अमेरिका लगायत देशबाट यस्ता कार आयत भैरहेका छन् । 

भारतबाट सवैभन्दा बढी ५०२ युनिट कार आयत भएको विभागको तथ्यांकले देखाएको छ । नेपालमा हाल भारतबाट टाटाका नेक्सन र टिगोर मोडल आयत भैरहेका छन् । यो तीन महिनाको अवधिमा आयत भएका कुल इलेक्ट्रिक कारमा टाटाका इभीले मात्र ७२ प्रतिशत बजार हिस्सा ओगटेको छ । भारतपछि कोरियाबाट १२० युनिट कार आयत भएका छन् । कोरियाबाट हाल हुन्डाइका कोना र आयोनिक ५ मात्र आयत भैरहेका छन् । 

भारत र कोरियाबाट आयत हुने इलेक्ट्रिक कारको संख्यामा बृद्धि हुँदै गर्दा चीनबाट आयत हुने संख्यामा भने ह्रास आएको छ । चीनसंगको नाका विगत लामो समयदेखी बन्द हुँदा पनि यो अवधीमा उक्त राष्ट्रबाट आउने यस्ता कारको अयातमा कमी आएको हो । तीन महिनामा चीनबाट कुल ७९ युनिट कार आयत भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट हाल विवाइडी, एमजी र नेटा लगायत ब्राण्डका कार आयत हुँदै आइरहेका छन् ।

यो समय अवधीमा अमेरिकाबाट कुल ४ युनिट टेस्ला कार नेपाल आएका छन् । उक्त समय अवधिमा जापानबाट आयत हुँदै आइरहेको निशान लिफको भने कुनैपनि युनिट नेपाल आएको देखिँदैन । चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट माथीका मोटर जडित इलेक्ट्रिक कारमा भारी मात्राले भन्सार र अन्तशूल्क बृद्धि गरिएका कारण यसरी आयत हुने कारको ठूलो हिस्सा सोही क्षमतासम्मको मोटर जडित कारको रहेको छ । इलेक्ट्रिक कारको आयातमा सरकारले लचिलो निती लिएको र कम्वस्चन इन्जिनयुक्त गाडीको आयात विगत ६ महिनायता ठप्प पारिएका कारण पनि नेपालमा यस्ता कारको मागमा बृद्धि भैरहेको छ ।

Logo