मधेस कांग्रेसले ल्यायो संकल्पपत्र

मधेस कांग्रेसले ल्यायो संकल्पपत्र


मधेस कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार रौतहटमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पति कृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो। 

उक्त घोषणापत्रले काँग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० काम र प्राथमिकताको सम्बन्धमा चर्चा गरिएको छ । घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पीछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध र प्रदेश र संघबीचको सम्बन्धमा विशेष जोड दिइएको छ । 

घोषणापत्रले केही लोकप्रिय कार्यक्रमहरू समेत अघि सारेको छ । सुशासन अन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । ‘सबैको साथ, सबैको विकास’ भन्ने नारालाई अघि सारेर पूर्वाग्रहरहित सरकार सञ्चालनको सोच घोषणापत्रमा उल्लेख गरिएको छ । आर्थिक विकास अन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न निर्ब्याजी ऋणको व्यवस्था गर्ने लोकप्रिय कार्यक्रम अघि सारिएको छ । ‘घरघर खाद्य, खेतखेत सिँचाइ’ भन्ने नारा अघि सार्दै घोषणापत्रमा ग्रामीण कृषि सडक, सिँचाइ, बीउबीजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिइएको छ । ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवस्था गर्ने उल्लेख गरिएको छ । 

५ वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पुर्‍याउने लक्ष्य समेत घोषणापत्रमा लिइएको छ । जनकपुर चुरोट कारखानालाई विद्युतीय चुल्हो कारखानाको रूपमा विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी सरकारले वीरगञ्ज ठोरी, वीरगञ्ज पथलैया, जनकपुर ढल्केबर गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना बनाइएको छ । 

भौतिक पूर्वाधार अन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्‍याउने,  काठमाडौँ–निजगढ फास्ट्रयाक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगञ्जसम्म पुर्‍याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने उल्लेख गरिएको छ । 

मधेसको साक्षरता अभिवृद्धि तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्न यो अवधिमा मधेसभित्र इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणापत्रले ५ वटा नाराहरू समेत अघि सारेको छ । स्वास्थ्य क्षेत्र अन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिने समेत जनाइएको छ । 

घोषणापत्रले ८० वर्ष भन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिन भनेको छ । यसअघि केन्द्रीय घोषणापत्रले ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भनेको थियो । 

घोषणापत्रले संघीय सरकारसँगको सम्बन्धलाई मजबुत बनाउँदै नागरिकतासम्बन्धी समस्या, प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी समस्या समाधान गर्ने तथा जनसङ्ख्याको आधारमा मधेसमा बजेट वृद्धि गर्न पहल गर्ने उल्लेख समेत गरेको छ । 

घोषणापत्रमा सबै जनताको आफ्नै घर, राम्रो शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, स्वच्छ खानेपानी, बिजुली, सर्वसुलभ यातायात, सुरक्षा तथा सम्मान तथा सर्वसुलभ सञ्चार उपलब्ध भए मात्रै प्रदेश समृद्ध समुन्नत र सुखी हुने कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितिश कुमार गुप्ता जनाएको छ ।

Skip This
Logo