दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियाे

दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियाे


लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएकाे छ ।

यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन् । दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ ।

यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले असोज १४ देखि व्यावसायिक उत्पादन थालेको छ । १२ मेगावाटको दोर्दी १ आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ व्यावसायिक उत्पादनको तयारीमा छ । परीक्षण उत्पादन गरिरहेको उक्त आयोजनाले तिहारपछि व्यावसायिक उत्पादन थाल्नेछ ।

चेपेखोलामा निर्माण गरेर दोर्दी करिडोरमा जडित ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन थालिसकेको छ । दोर्दीको शाखा छ्याङ्दीखोलाबाट गत वर्ष ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ । यसअघि दुई मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले पनि बिजुली उत्पादन गरिरहेको छ ।

दोर्दी करिडोर प्रसारण लाइनले बोकेको ७८ दशमलव ८३ क्षमता बिजुली उत्पादनका लागि १४ अर्ब १८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । दोर्दीखोला जलविद्युत् आयोजना (२७ मेगावाट) ४ अर्ब ८३ करोड, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना (२५ मेगावाट) ४ अर्ब ६४ करोड ६१ लाख, दोर्दी १ जलविद्युत् आयोजना (१२ मेगावाट) २ अर्ब, चेपेखोला साना जलविद्युत् आयोजना (८.८३ मेगावाट) १ अर्ब ५० करोड, माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना (४ मेगावाट) ८० करोड ३५ लाख र छन्दीखोला साना जलविद्युत् आयोजना (२ मेगावाट) ४१ करोड खर्च भइसकेको छ ।

दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ ८० प्रतिशत बढी निर्माण सकिएको छ । अर्को वर्ष उक्त आयोजनाले बिजुली उत्पादन गर्ने आयोजना निर्देशक अर्जुन गौतमले बताए । यसको लागत ८ अर्ब ८० करोड छ । योसमेत निर्माण हुँदा १३२ दशमलव ८३ मेगावाट बिजुली दोर्दी करिडोरमा उत्पादन हुनेछ । सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को समेत लगानी गरी दोर्दी करिडोरमा २२ अर्ब ९८ करोड ९६ लाख खर्च हुनेछ । प्राय: आयोजना स्वदेशी लगानीमा बनेका छन् ।

Logo