मार्जिन कारोबार कार्यान्वयनमै सकस

मार्जिन कारोबार कार्यान्वयनमै सकस


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हरेक आर्थिक वर्ष मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिना भित्र निकाल्नु पर्ने “मार्जिन कारोबार सम्बन्धी कार्यविधि, २०७५” मा उल्लेख छ । नेप्सेले सो कार्यविधिको आधारमा सूची सार्वजनिक गरेको हो ।

कस्तो कम्पनी मार्जिन कारोबार गर्न योग्य हुन्छ ?
“मार्जिन कारोबार सम्बन्धी कार्यविधि, २०७५” अनुसार मार्जिन कारोबार गर्न धितोपत्र बोर्ड भन्दा कम्तिमा १० हजार सेयर लगानीकर्ता भएको हुनुपर्छ । साथै, खुद सम्पति ऋणात्मक नभएको हुनुपर्छ । विगत २ वर्षदेखि लगातार नाफामा गएको र १० प्रतिशत भन्दा बढी डिभिडेन्ट दिएको हुनुपर्ने छ । यस्तै, दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिनमा सेयर कारोबार भएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । 

सबै मापदण्ड पूरा गरेको कम्पनीलाई मात्र मार्जिन कारोबार सुबिधा दिन सकिने नेपाल स्टक ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीले बताए । उनका अनुसार मार्जिन कारोबार गर्न योग्य भएका कम्पनीको छनोट भएको सूची नेपाल स्टक एक्सचेन्जले निकाल्छ । त्यसबाट पनि कुन कुन कम्पनीलाई मार्जिनको सुबिधा दिने भन्ने ब्रोकरले थप सुची निकाल्न सक्छ । 

स्टक एक्सचेन्जले निकालेको सूची अनुसार नै मार्जिन कारोबार गर्न दिनुपर्छ भन्ने छैन्, अध्यक्ष मैनालीले भने, ती मध्ये ब्रोकरले फिल्टर गर्न पनि सक्छ ।  

कार्यान्वयनमा ढिलाइ
नेप्सेले हरेक वर्ष मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची सार्वजनिक गर्छ । नेप्सेले सूची सार्वजनिक गरेपनि कार्यन्वयनमा भने आउन सकेको छैन । मार्जिन कारोबार कार्यान्वयनमा आउन नसक्नुको कारण मूख्य प्राविधिक समस्या नै रहेको अध्यक्ष मैनालीले बताए । मार्जिन कारोबार गर्न छुट्टै खाता खोल्नु पर्ने प्रणाली छ । छुट्टै खाता खोल्ने प्रणाली पूर्णरुपमा नेप्सेले नबनाएको अध्यक्ष मैनालीले जानकारी दिए । उनले भने, मार्जिन कारोबार कार्यान्वयन गर्न अर्को खाता खोल्नु पर्ने हुन्छ । खाता खोल्न सिस्टमले अहिलेसम्म दिएको छैन । 

कारोबार गर्नको लागि पर्याप्त मात्रमा पुँजी हुनुपर्छ । ब्रोकरहरुले आफ्नो पुँजीले मात्र कारोबार गर्न सक्दैनन । बैंक तथा वित्तिय संस्थाबाट पैसा लिएर कारोबार गर्ने कानूनी वातावरण मिलाउनु पर्नेहुन्छ, उनले भने,त्यो अहिलेसम्म बन्न सकेको छैन् । अर्कोतर्फ बजारको अवस्था घट्दो छ, तरलता अभाव कायमै रहेकाले मार्जिन कारोबार कार्यान्वयनमा आउन नसकेको हुनसक्ने उनको अनुमान छ । 

स्टक ब्रोकर नम्बर (५८) नासा सेक्युरिटिजले आफ्नो पुँजीबाट मार्जिन कारोबार सुविधा सुरु गरेको छ । त्यसबाट सिमित रकमले सिमित व्यक्तिहरुलाई मात्र सुविधा दिन सकिन्छ । यसले हामीले काम सुरु गरेका छौँ भनेर देखाउन मात्र काम लाग्छ । तर त्यसले प्रोडक्टिभरुपमा बजारको माग पूरा गर्न नसक्ने मैनालीको भनाइ छ ।

के हो मार्जिन कारोबार ?
मार्जिन कारोबार भनेको धितोपत्र दलाल व्यवसायीले तोकेको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो । सामान्य अर्थमा भन्दा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधालाई मार्जिन कारोबार भनिन्छ । नेपाल स्टक ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीका अनुसार मार्जिन कारोबार बजारमा हुने उतार चढाबको प्रत्यक्ष लाभ लिनका लागि तत्कालीन कारोबार हो । जसको लागि लगानीकर्ताहरुले आफूसँग भएको भन्दा केही बढी रकम, जुन ब्रोकरले मार्जिनको रुपमा उपलब्ध गराउँछ र त्यस बापत व्याज अथवा अन्य शुल्कहरु तिर्नुपर्छ । मार्जिन कारोबार दीर्घकालीनभन्दा अल्पकालीन रुपमा बढी उपयोगी हुन्छ । यो मार्जिन बढीमा ३ महिनाको लागि दिइन्छ । 

मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य 
मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य छन् । नेप्सेमा सूचीकृत भएका २२४ कम्पनी मध्य ८७ कम्पनी मात्र मार्जिन कारोबार गर्न योग्य भएको नेप्सेले जनाएको छ । योग्य देखिएका कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बीमा कम्पनी र जलविद्युत कम्पनी रहेका छन् । 

नेप्सेले सार्वजनिक गरेको कम्पनीको सूचीमा १७ वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् । यस्तै, सबैभन्दा धेरै लघुवित्त कम्पनी मार्जिन कारोबार गर्न योग्य भएको देखिन्छ । २९ लघुवित्त कम्पनी मार्जिन कारोबारका लागि छनोट भएका छन् । साथै, ५ वटा फाइनान्सले पनि मार्जिन कारोबार गर्न पाउने भएका छन् । 

यता जलविद्युत्बाट १३ कम्पनी, ४ वटा जीवन बीमा र ५ वटा निर्जीवन बीमा कम्पनी छनोट भएका छन् । यसैगरी २ वटा निर्माण कम्पनी र २ वटा अन्य कम्पनी पनि परेका छन् । होटल र लगानी समूहबाट भने १र१ कम्पनीमार्जिन कारोबार गर्न योग्य ठहर भएका छन् । 

मार्जिन कारोबार गर्न योग्य सूचिकृत कम्पनीहरु

२०७५ मा मार्जिन कारोबार सम्बन्धी कार्यविधि लागू भएपनि अहिलेसम्म कुनै पनि ब्रोकरले पूर्ण व्यवस्थित रुपमा कार्यान्वयन गर्न सकेका छैनन् ।  हाल नेपालमा धितोपत्र कारोबारका लागि ५० वटा ब्रोकर कम्पनी छन् । जसमध्ये मार्जिन कारोबार गर्न १५ वटा ब्रोकर कम्पनीले स्वीकृति पाएका छन् । मार्जिन कारोबार सेवाका लागि कम्पनीहरुले नेप्सेसँग स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालमा पहिलो पटक नासा सेक्युरिटिजले २०७९ कार्तिक ९ गतेबाट मार्जिन कारोबार सुरु गर्यो । अहिलेसम्म आफ्नै पुँजीले सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

Logo