निजी क्षेत्रको मनोबल कमजोर भएको छः गोल्छा

निजी क्षेत्रको मनोबल कमजोर भएको छः गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । 

शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले बजारमा तरलता चरम अभाव,उद्योगको उत्पादन क्षमतामा कमी,बैंकको ब्याजदर वृद्धि लगायत सरकारको नीतिको कारण निजी क्षेत्रको मनोवल कमजोर भएको बताएका हुन् । उनले सरकारले लामो समय आयात प्रतिवन्ध गर्दा राजश्व संकलनमा कमी आएकाले सरकारको दैनिक खर्च गर्नसमेत समस्या हुने गरेको बताए ।  

अध्यक्ष गोल्छाले अहिले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताए । उनले देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी भएको बताए । मुलुकभित्रै युवाहरुले भविष्य खोज्न सक्नुपर्ने उनले बताए ।  

उनले भने- ‘नेपालको उद्योग क्षेत्रमा राणाकालिन समयमा अर्थात ६० वर्ष पहिले रहेका समस्याहरु आजसम्म पनि त्यही कुरा गरिरहेका छौं ।  मुलुकको जीडिपीमा उद्योगको योगदान घटेर ४ प्रतिशत पुगेको छ । समस्याहरु यथावत रहेका छन् । सबैलाई उद्योगको समस्या थाहा भएपनि समस्या समाधान गर्न सकेको छैनौं । समस्या समाधान गर्न राजनीतिक स्थायीत्व आवश्यक छ । हामी राजश्वमुखी अर्थतन्त्रमा गएका छौं अब कसरी उत्पादनमुखी र रोजगारमुखी हुने भन्ने योजना सरकारसँग छैन । नेपालसँग प्रतिष्पर्धा गर्ने क्षमता के छ । हामी विश्व व्यापार संगठनमा आवद्ध छौं । त्यसले गर्दा उद्योगमा भएको प्रोटेक्सन घटाउँदै जानुपर्नेछ ।  प्रोटेक्सन घटाउँदै जादाँ लागत बढ्दै गयो । अब सरकारले देशको उद्योग कसरी बचाउने विषयमा ध्यान दिन जरुरी रहेको छ । उद्योगहरु बँचे मात्रै उद्योगमा भए र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नसक्छौं । सरकारले निश्चित उद्योगहरुलाई ब्याजदरमा अनुदान दिनुपर्छ । नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्छ । वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको र उद्योग त्यसको चपेटामा परेको छ । वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यकै हुन्, ब्याजदरको अस्थिर अवस्थामा बैकलाई भन्दा पनि उद्योग बचाउन सरकारले उद्योगको ब्याजमा अनुदान दिनुपर्छ । उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयावह छ ।’
 
त्यस्तै,उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताए । उनले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म वृद्धि,मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताए । उनले उद्योगीहरुले उद्योगमा लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगीहरुले लगानी रोकेर राखेको बताए । 

गोल्छाले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत माग गरे । उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमार्फत ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने,वर्षमा उद्योगको योगदान २२ प्रतिशत बनाउने १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने र निर्यातलाई ४ मिलियन डलर पु¥याउने उदेश्य रहेको बताए । 
 
सरकारले पछिल्लो समय अर्थतन्त्र तथा उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्राथमिकताका साथ तत्काल एक्सनमा जान आवश्यक रहेको पनि उनले बताए । 

Logo