निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यकः उपाध्यक्ष श्रेष्ठ

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यकः उपाध्यक्ष श्रेष्ठ


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

सोमवार उद्योग वाणिजय महासंघले अर्थतन्त्रमा मेला महोत्सवको महत्व विद्यमान चुनौती र आगामी तयारी विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र सहयोगी भावना नभएको आरोप लगाए । 

उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यकामा नै अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउन माग गरेपनि सरकारले सुनुवाई नगरेको बताए । उनले अन्य  देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको बताए । 

उनले भने, ‘अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको छ । तर नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको अवस्था छ । निर्यात गर्नेहरुलाई सरकारले आयकर नलाग्ने व्यवस्था गरेको थियो । अहिले करको दायरामा ल्याएको अवस्था छ । निजी क्षेत्र राज्यलाई कर तिर्न तयार छ तर सरकारले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गरेर सहयोगी भावना हुनुपर्छ । स्थानीय स्तरका क्लवहरुलाई  जिल्ला प्रशासन कार्यालयले स्थानीय क्लवहरुलाई मेला महोसव गर्न दिनु भएन । क्लवहरुलाई मेला गर्दा स्थानीय व्यवसायीहरुसँग स्वीकृत लिनुपर्छ । त्यसरी स्वीकृत बिना मेला गर्दा स्थानीय व्यवसायीहरुको व्यापारमा असर पर्छ । उद्योग वाणिज्य महासंघले चोभारको प्रदर्शनी हल बनाउन टिपीसीलेसँग मिलेर जान तयार छ । टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने कार्य आज छोड्यो भने भोलिदेखि बनाउन निजी क्षेत्र तयार छ ।’
 
त्यस्तै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको र सातै प्रदेश तथा स्थानीय तहमा मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताए । उनले स्थानीय स्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधिकरण गर्न सकिने बताए ।

Logo