सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भएको छः प्रवक्ता डा. भट्ट

सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भएको छः प्रवक्ता डा. भट्ट


नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्यनजर गरी तर्जुमा गरिएको बताएका छन् । 

सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता भट्टले वर्तमान मुलुकको अर्थतन्त्र परेको दबाब तथा व्यवसायीक वातावरण सहजता बनाउने गरी मौद्रिक नीतिमा नीतिगत व्यवस्था गरी सबैको सुझावलाई सम्बोधन गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको बताएका हुन् । मुलुकको वर्तमान समग्र आर्थिक स्थितिमा दबाब रहेकाले त्यही अनुरुप मौद्रिक नीतिको समिक्षा आएको उनले स्पष्ट पारे । 

प्रवक्ता भट्टले अर्थतन्त्र दबाब हुँदाहुँदै पनि आन्तरिक आर्थिक क्रियाकलापलाई सहज बनाउन आवश्यक रहेको बताए । पछिल्लो असोज महिनाको अर्थतन्त्रको तथ्याङ्क अनुसार वाह्य दबाबमा सहजता देखिए पनि अन्य फण्डामेन्टल विषयहरुमा अझै अफ्ठ्यारो अवस्था रहेको बताए । राष्ट्र बैंकले पछिल्लो एक वर्षदेखि विनिमय सञ्चिति,व्यापार घाटाको अवस्था बारेमा सुक्ष्म अध्ययन गरिरहेको भन्दै अर्थतन्त्रमा भोलिको दिनमा आउनसक्ने अफ्ठ्यारो अवस्थालाई केन्द्रमा राखेर मौद्रिक नीतिको समिक्षा गरिएको पनि उनले बताए ।  

प्रवक्ता भट्टले व्यवसायिक र औद्योगिक वातावरण तथा सर्वसाधरणहरुमा ब्याजदरको विषय उत्पन्न भएको संशयलाई सम्बोधनका विषयलाई मौद्रिक नीतिको समिक्षामा सम्बोधन गरिएको बताए । उनले मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको स्पेडदर ४.४ प्रतिशत मात्रै हुनुपर्छ भन्ने व्यवस्थालाई अब ४ प्रतिशतमा सिमित राख्नुपर्छ भनेर बाटो खुला गरेको बताए । विकास बैंक र वित्त कम्पनीहरुले  ५ प्रतिशतको स्पेडदरलाई ४.६ प्रतिशतमा कायम गर्ने नीतिगत व्यवस्था गर्नु व्यवसायिक वातावरणलाई सहज बनाउनको लागि महत्वपूर्ण निर्णय गरिएको उनले बताए ।  
 
बैंकहरुको ब्याजदरमा स्थायीत्व ल्याएर सन्तुलन कायम गर्नु र अर्थतन्त्रको मौलिक विशेषता र वित्तिय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको समिक्षा आएको प्रवक्ता भट्टले बताए । बजारमा चरम तरलता अभावको कारण बजार ब्याजदर उच्च भएको उनले बताए ।  

उनले वाह्य क्षेत्रमा सुधार भएर शोधानान्तर स्थिति सहज हुने बित्तिकै तरलता सहज हुने बताए । उनले तरलता सहज भएमा ब्याजदर पनि बिस्तारै घट्दै जाने बताए । उनले बैंकको ब्याजदर बजारले नै निर्धारण गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंक सहमत रहेको बताए । उनले मौद्रिक नीतिको समिक्षाले बैंकको नाफा घटाउने काम भन्दा पनि बैंक तथा वित्तिय क्षेत्रको वित्तिय अवस्था बलियो हुनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक दृढ रहेको बताए । 
 
भट्टले राष्ट्र बैंकले जारी गरेको चालुपुँजी कर्जा मार्ग दर्शन कार्यान्वयनमा गएको बताए ।  मार्ग दर्शनमा देखिका समस्या समाधान गर्न राष्ट्र बैंक तयार रहेको सन्देश मौद्रिक नीतिको समिक्षाले दिएको बताए ।  उनले वाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुलाई अहिलेको परिस्थितिमा परेको समस्यालाई मौद्रिक नीतिको समिक्षाले सम्बोधन गर्ने विषय उल्लेख भएको पनि बताए । 
 
प्रवक्ता भट्टले बैंकको निक्षेप भनेको सर्वसाधरणको वचत भएको भन्दै सर्वसाधरणको वचत कतै पनि दुरुपयोग हुन दिन नहुने बताए । बैंकको बचत राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा प्रयोग हुनुपर्छ भन्ने विषयमा दृढ रहेको उनले बताए ।  

Logo